काठमाडौं । लामो कसरत र मेहेनतपछि क्लिङ्करमा आत्मनिर्भर भएको नेपाल पुनः यसमा परनिर्भर हुने खतरा बढेको छ ।
सरकार, उद्योगी र स्थानीय तहको अथक प्रयासमा सिमेन्ट बनाउन आवश्य पर्ने प्रमुख कच्चा पदार्थ मध्ये क्लिङ्करमा नेपाल आत्मनिर्भर बनिसकेको छ ।
आफ्नै स्रोत साधनबाट बन्ने क्लिङ्कर विदेशबाट आयात गर्नुभन्दा सस्तो मूल्यमा नेपालमै पाइन थालेको छ । तर, सरकारले लकडाउन गरेसँगै खानी चल्न स्यानीय तहले निरन्तर अबोध पुर्याएपछि उद्योगीले बाध्य भएर भारतबाटै क्लिङ्कर झिकाएर सिमेन्ट उद्योगहरु सञ्चालन गरिरहेका छन । विदेशबाट आयातित क्लिङ्कर स्टकमा समेत राख्न थालेका छन् ।
देशलाई सिमेन्ट र क्लिङ्करमा आत्मनिर्भर बनाउन सरकारले ठूलै खर्च गरेको छ । तर, अहिलेसम्म सरकारले गरेको खर्च व्यर्थ हुने अवस्था आएको उद्योगीहरु बताउँछन् ।
संघीय सरकारले ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ । त्यसमध्ये सिमेन्ट उद्योग पनि पर्छ । तर, क्लिङ्कर बनाउन प्रयोग गरिने कच्चा पदार्थ निकाल्न स्थानीय सरकारले अवरोध गरेपछि उद्योगी/व्यवसायीले भारतबाट धमाधम क्लिङ्कर मगाउन थालिसकेका छन ।
सामान्य समयमा यो बेला उद्योगीले आफनै खानीबाट कच्चा पदार्थ झिकेर मौज्दात राख्थे । बर्खा सुरु भएपछि विभिन्न कारणले खानी सञ्चालन हुन सक्दैनन् । त्यही भएर उनीहरुले अगामी ६ महिनासम्मलाई पुग्ने कच्चा पदार्थ खानीबाट झिकेर उद्योगमा ल्याएर राख्ने गर्छन ।
चैत ११ गते लकडाउन भएपछि उद्योगीले अहिलेसम्म न खानी सञ्चालन गर्न पाएका छन्, न स्थानीय सरकारले अधिकार नै दिएको छ, त्यही भएर उनीहरुले छिमेकी मुलुकबाट भटाभट क्लिङ्कर आयात गर्न सुरु गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी सञ्चालन गर्न दिनका लागि भरपूर प्रयास गरेको छ । खासगरी, उद्योग मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगड र वाणिज्य सचिव बैकुन्ठ अर्याल उद्योग तथा खानी सञ्चालन गर्नका लागि अहोरात्र खटिएका छन् ।
उनीहरुको खटाईले अझैसम्म पनि सार्थकता पाउन सकेन । खानी सञ्चालन गर्न नपाएपछि उद्योगीले बाध्य भएर क्लिङ्कर आयातको बाटो रोजेको उद्योगीहरु बताउँछन् ।
वाणिज्यको प्रयासलाई स्थानीय सरकारले त बुझ्नन्, बुझेनन्, गृह मन्त्रालयले पनि बुझेन । आर्थिक गतिविधि चलायमान बनाउन सचिव अर्याल र अर्थ मन्त्रालले चाहेका छन्, गृहले समन्वयन नै गर्दिदैन ।
अहिले स्वदेशमै क्लिङ्कर बनाउने अधिकांश उद्योगले कच्चा वस्तु आयातका लागि एलसी खोलिसकेका छन् । विदेशबाट क्लिङ्कर ल्याएर सिमेन्ट बनाउने बित्तिकै सिमेन्टको मूल्य बढ्ने पक्का छ ।
नेपालमा प्रतिटन क्लिङ्करको मूल्य ८ हजार ५ सय रुपैयाँसम्म आइपुगेको थियो । जबकि, अहिले व्यापारीले आयात गर्न लागेको क्लिङ्कर प्रतिटन ११ हजार ५ सय रुपैयाँ पर्ने भएको छ ।
८ हजार ५ सयको लागतका बनेको क्लिङ्करबाट जुन मूल्यमा सिमेन्ट बन्छ, ११ हजार ५ सय रुपैयाँ तिरेर ल्याएको क्लिङ्करबाट बनेको सिमेन्टको मूल्य अवश्य पनि बढि हुने उद्योगीहरु बताउँछन् । उनीहरुले आगामी दिनमा सिमेन्टका भाउ बढ्ने संकेत समेत गरेका छन ।