मुस्ताङले एनओसी पायो: हेलिकप्टर आएन, म्याद थप्ने तयारीमा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार ८, साेमबार,१०:३५:AM  
मुस्ताङले एनओसी पायो: हेलिकप्टर आएन, म्याद थप्ने तयारीमा 

काठमाडौं । मुस्ताङ हेलिकप्टर कम्पनीको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) को म्याद सकिन अब केहि दिन मात्र बाँकी छ । कम्पनीले हालसम्म हेलिकप्टर ल्याउन सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मुस्ताङलाई चार वटा हेलिकप्टर किन्न २०७५ साउन ९ गते एनओसीको अनुमति दिएको थियो ।

पहिलो चरणमा २ वटा हेलिकप्टर ल्याएर ०७७ को अक्टोवरबाट व्यवसायीक उडान गर्ने बताइएको थियो । एउटा पनि हेलिकप्टर ल्याउन नसकेपछि कम्पनीले फेरी एनओसीको म्याद थप गर्ने तयारी गरेको छ ।

कम्पनीका अध्यक्ष रोनन लामिछानेले कोरोना भाइरसको प्रभावले  हेलिकप्टर ल्याउन नसकिएको जानकारी दिए । ‘हेलिकप्टर ल्याउन आवश्यक तयारी भइसकेको थियो,’ अध्यक्ष लामिछानेले भने, ‘भाइरसको प्रभावले ल्याउन सकेनौं ।’

उनले यो बेला हेलिकप्टर ल्याउन सक्ने अवस्था नरहेकोले अवस्था सामान्य हुनेबित्तिकै ल्याउने बताए । विदेशमा हेलिकप्टर तयार समेत भइसकेको बेला कोरोनाले रोकिनु परेको उनको भनाई छ । 

जुलाईसम्म एनओसीको म्याद भएकोले म्याद थप गर्नुको बिकल्प नभएको उनले बताए । ‘हेलिकप्टर ल्याउन नचाहेको हैन, समय र परिस्थितिका कारण रोकिएको हो,’ उनले भने ।

यता प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोरोनाको प्रभावले धेरै विषयमा छुट दिइरहेको बेला मुस्ताङको एनओसीको पनि म्याद थप गरिदिने बताए । ‘अहिलेसम्म कुनै डकुमेन्ट आएको छैन, महानिर्देशक पोखरेलले भने,’ ‘भाइरसको समस्यालाई मध्यनजर गर्दै म्याद थप गर्नुपर्छ ।’

मुस्ताङले २ वटा एचवान २५ –३५० बी सिरिजका युरोकप्टर र २ वटा रोविन्सन आर ६६ हेलिकप्टर ल्याएर सेवा सञ्चालन गर्ने अनुमति पाएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top