काठमाडौं । नेपाली कांग्रेसले ब्याजको पूँजीकरणसहित कर्जा भुक्तानी अवधि १ देखि ३ वर्षसम्म लम्ब्याउन सरकारलाइ सुझाव दिएको छ । कांग्रेसको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समिति’ ले आगामी आर्थिक वर्षको मौद्रिक नीति, २०७७/७८ का लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको हो ।
अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिदैं गएको सन्दर्भमा उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरतालाई केन्द्रीत गर्दै अतिप्रभावित र नगदप्रवाह सुकेका व्यवसायलाई अवस्था हेरी कर्जा भुक्तानी अवधि लम्ब्याउन सुझाव दिएको हो ।
रोजगारी र उद्यमशीलता विकासलाई थप गति दिन सबैखाले साना मझौला उद्यमलाई कर्जा उपलब्ध गराउन कांग्रेसले माग गरेको छ । वैदेशिक रोजगारबाट फर्केका र आन्तरिक श्रम बजारमा रोजगारी गुमाएकाहरुलाई उद्यमशील बनाउन मौद्रिक नीतिमार्फत् २० लाख सम्मको कर्जा परियोजना धितामो दिने व्यवस्था मिलाउन सुझाव दिएको छ ।
त्यस्तै, बैंक तथा वित्तिय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) स्वरुप खर्च गर्नुपर्ने रकम सम्भावित उद्यमीहरुलाई तालिम, सीप विकास, व्यवसायिक योजना विकास र नयाँ जन्मेका व्यवसाय बचाउन (इन्क्युबेसन)का लागि खर्च गर्ने व्यवस्था ल्याउन सुझाइएको छ ।
‘उद्यमशीलता, रोजगारी र आपूर्ति शृंखलाको नियमितता अहिलेका प्राथमिक आवश्यकता हुन् । मौद्रिक नीतिले युवा र महिला उद्यमशीलता केन्द्रीत गर्दै लघु, घरेलु र साना उद्यमी जन्माउन प्रोत्साहन गर्नुपर्छ,’ समितिका संयोजक विनोद चौधरीले भने, ‘यसै सन्दर्भमा बैंक तथा वित्तिय संस्थाले सीएसआरको रकम नयाँ उद्यमी, व्यवसायी जन्माउन र सम्भावना भएकालाई स्केल अप गर्न लगाउनुपर्छ । यो व्यवस्था मुलुकको दिगो र समावेशी आर्थिक विकासको आधारशीलाका लागि प्रस्थानबिन्दू हुनेछ ।’
त्यस्तै, निजी क्षेत्रको कर्जा २० प्रतिशत बढाउन, नगद प्रवाहको समस्या भएका ऋणीहरुलाई ऋणको २० प्रतिशतसम्म कार्यशील पुँजी (वर्किङ क्यापिटल) दिने व्यवस्था गर्न समेत माग गरेको छ । सबै ऋण भुक्तानीमा समस्या खेपेका सबै कर्जाको ब्याज पुँजीकरण र भुक्तानी पुनर्तालिकीकरणमा लचक हुन आग्रह गरेको छ ।
निर्माण सामग्रीका उद्योगको सञ्चालन, उत्पादन लागत न्यूनीकरण र निर्माण क्षेत्रबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले निर्माण सामग्री उद्योगलाई सहुलियत कर्जाको व्यवस्था गर्न आग्रह गरेको छ । त्यस्तै, अर्थतन्त्रमा सिजर्नी ल्याउने र चाँडो पुनरुत्थान हुनसक्ने क्षेत्रलाई सहुलियतपूर्ण पुर्नकर्जा एवं सहुलियतपूर्ण कर्जा छिटो उपलब्ध गराउन आग्रह गरिएको छ ।
कोभिड–१९ बाट अति प्रभावित होटल, हवाई उद्योग, टुर्स÷ट्राभल लगायत समग्र पर्यटन क्षेत्रमा बैंक तथा वित्तिय संस्थाको कुल कर्जा पोर्टफोलियोको करिब ३ प्रतिशत लगानी रहेको पर्यटन क्षेत्रलाई अझै एक/डेढ वर्ष भेन्टिलेशनको आवश्यकता देखिएकाले यस क्षेत्रलाई जीवित राख्न कर्जाको पुनर्तालिकीकरण गर्नुपर्ने कांग्रेसको सुझाव छ ।
साना–मझौला उद्यमका लागि सरकारले व्यवस्था गरेको ५० अर्ब रुपैयाँको सहुलियत कर्जा चाँडो पुनस्र्थापना हुनसक्ने, उत्पादन, रोजगारी र आपूर्ति शृंखलामा महत्वपूर्ण योगदान गर्ने व्यवसायहरुका लागि उपलब्ध गराउन आग्रह गरेको छ ।
त्यस्तै, १०० अर्ब रुपैयाँको पुनकर्जा कोषलाई नेपाल राष्ट्र बैंकले प्रति ऋणी अधिकतम सीमा १० करोड र केन्द्रीय बैंकको अनुमतिमा ५० करोड रुपैयाँसम्म दिन सकिने व्यवस्था भएको परिप्रेक्ष्यमा यस्तो ऋण परिचालन हुने उत्पादनमूलक क्षेत्रको छिटो पुनरुत्थान हुनसक्ने र रोजगारी सिर्जनाका दृष्टिले महत्वपूर्ण क्षेत्रलाई केन्द्रीत गर्न आग्रह गरिएको छ । केन्द्रीय बैंकको अनुमतिमा स्वीकृत गर्न सकिने ५० करोड रुपैयाँको सिलिङको ऋण स्पष्ट र पारदर्शी बनाउन र पुनकर्जा कोषमा अर्को थप १०० अर्ब रुपैयाँ थप गरी प्रति ऋणी सीमा २० करोड रुपैयाँ पु¥याउन माग गरेको छ ।
पुनकर्जा सुविधा र सहुलियत ऋण प्याकेज पुरै उपयोग हुने वातावरण बनाउन नेपाली कांग्रेसको सुझाव छ । पुनकर्जाको झञ्झटिलो कागजी प्रकृया छोट्याइ बैंकहरुको अनुरोध आएको ४८ घण्टाभित्र कर्जा दिने व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।
अल्पकालीन ऋण र कार्यशील पुँजीको भुक्तानी अवधि लम्ब्याउन, निर्यातमा जाने पुनकर्जाको अवधि कम्तीमा एक वर्ष कायम गर्न, काउन्टर साइक्लीकल बफर राख्नुपर्ने व्यवस्थालाई अवस्था सहज नभएसम्म निलम्बन मै राख्न र सीसीडीमा केही लचिलो हुन आग्रह गरिएको छ ।
मुद्दती निक्षेपको अवधि कम्तीमा ६ महिनाको हुनैपर्ने, कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेडदर) गणना गर्दा कर्जा र निक्षेपको भारित औसत गणनामा मध्यक (मिन) निकाली त्यसका आधारमा स्प्रेडदर गणना हुने व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ ।
विदेशी मुद्रा सञ्चिति ह्वात्तै घट्न सक्ने भएकाले विदेशी मुद्रा सञ्चितिको अवस्थामा हरेक १५ दिनमा अनुगमन गर्ने र आवश्यकता अनुसार हस्तक्षेप गर्न सुझाव दिएको छ । साथै, कोभिड–१९ को विद्यमान संकट समाधान भइ पुनः नेपालीहरु विदेश भ्रमण, विद्यार्थीहरु अध्ययनका लागि जानेक्रम शुरु हुने हुँदा उनीहरुलाई विदेशी विनिमय सञ्चिति नगदमा उपलब्ध गराउने सीमा आवश्यकता अनुसार कम गर्न सकिने पनि सुझावमा समावेश छ ।
मौद्रिक नीति २०७७–७८ का लागि प्रेषित सुझावमा आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था भएको किसान क्रेडिट कार्ड कार्यान्वयनका लागि सरकारले क्रेडिटमा जाने रकम बराबरको रकम सम्बन्धित वित्तिय संस्थालाई उपलब्ध गराउनुपर्ने व्यवस्था गर्ने र किसान क्रेडिट कार्ड प्रभावकारी रुपमा र लक्षित रुपमा लागू गर्न अनुगमनको व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै, अर्थतन्त्रको ऐना मानिने मुलुकको एकमात्र सेयर बजारमा देखिएको डिप्रेसन अन्त्य गरी लगानीकर्तालाई आकर्षण गर्न मार्जिन लेण्डिङ खुकुलो गरी सेयर धितोको कर्जाको सीमाको निर्धारण बैंकहरुले नै गर्न पाउने व्यवस्था गर्न आग्रह गरिएको छ । पुँजीबजारमा धितोपत्रका अतिरिक्त अन्य इन्स्ट्रुमेन्टहरु, बण्ड, म्युचुअल फण्डको कारोबारलाई प्रोत्साहन दिने भनिएको छ ।
निजी क्षेत्रमा खासगरी नवप्रवर्तनमा आधारित उद्यममा जोखिम वहन गरेर लगानी साझेदारीस्वरुप भित्र्याउने पुँजी अर्थात् भेञ्चर क्यापिटलको प्रवेशलाई नेपाल राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने सुझावमा उल्लेख छ । साथै, बैंक वित्तीय संस्थाहरुलाई विदेशबाट वित्तीय साधन परिचालन गर्न सहज व्यवस्था गरिदिने र बाह्य व्यावसायिक ऋणसँग सम्बन्धित लाइबोर प्लस रेट र समयावधि, सीमामा पुनरावलोकन गर्न सुझाइएको छ ।
नेपाली कांग्रेसले आगामी मौद्रिक नीतिमार्फत् दीगो विकास लक्ष्य प्राप्तिका लागि वातावरण मैत्री परियोजनालाई प्रोत्साहन गर्न अाग्रह गरिएकाे छ । वातावरण ह्रास र जलवायु परिवर्तनको असरले उत्पन्न प्राकृतिक विपद्ले बैंक तथा वित्तिय संस्थाको कर्जा जोखिममा नपरोस् भन्नका लागि वातावरणीय प्रभाव न्यूनीकरण सम्बन्धि कार्यविधिलाई कार्यान्वयनमा ल्याउन समेत कांग्रेसले माग गरेकाे छ ।