काठमाडौं । लकडाउनको कारण साविकको व्यवसाय चौपट भएपछि अहिले नयाँ नयाँ ढंगबाट व्यवसायलाई अगाडी बढाउने आइडियाहरु फुरीरहेका छन् । लकडाउनकै कारण भर्खरभर्खरै नेपालमा सुरु भएको होम डेलिभरी सुविधालाई स्थापित नै गरिसकेको छ ।
फुड डेलिभरीका लागि लकडाउनकै समयमा फुरेको अर्काे व्यवसाय हो, ‘ड्राइभ थ्रु’ अर्थात गाडीबाटै अर्डर, गाडीमै खाना । बालुवाटारमा रहेको बालुवाटार पार्टी प्यालेसले किचन एक्सप्रेसमार्फत ‘ड्राइभ थ्रु’ सेवा सुरु गरेको छ । यो सेवा नेपालमै पहिलो पटक रहेको कम्पनीले जनाएको छ ।
लण्डनमा १७ वर्ष सेवा क्षेत्रमै काम गरेर केहि वर्षअघि मात्र नेपालमा फर्किर पार्टि प्यालेस सञ्चालन गर्दै आएका सन्तोषकुमार लम्सालको समूहले एक साता अघिबाट ड्राइभ थ्रु सुरु गरेका हुन् । विदेशमा बढी नै प्रचलनमा रहेको यो ‘ड्राइभ थ्रु’ नेपालमा भने पहिलो सुरुवात रहेको लम्सालले बताए ।
अहिले पार्टी प्यालेसको व्यवसाय पूर्ण रुपमा बन्द छ । सरकारले लुजडाउनपछि पनि खोल्ने प्राथमिकतामा पनि पार्टी प्यालेसलाई पछि नै राखेको छ । यस्तो बेला व्यवसायलाई नयाँ मोड दिन नयाँ आइडिया ल्याएको लम्साल बताउँछन् ।
कोरोना भाइरसको महामारीपछि सामाजिक दूरी कायम गर्नुपर्ने विषय स्थापित भएको कारण ‘ड्राइभ थ्रु’ नेपालमा पनि लोकप्रिय हुने विश्वास उनले लिएका छन् ।
‘ड्राइभ थ्रु’को सेवा लिनेहरुले अर्डर गरेको दुईदेखि चार मिनेट भित्रमा खाना र खाजा गाडीमै पाउँछन् । आफ्नै गाडीबाटै अर्डर गर्ने र आफ्नै गाडीमै खाना आइपुग्ने भएकोले एकातिर संक्रमणको जोखिम कम हुने र अर्काेतर्फ समयपनि बचत हुने सञ्चालक लम्साल बताउँछन् ।
गाडीमै कतै हिँडिरहेको समयमा आफुलाई पायक पर्ने बेला यो सेवा लिन सकिन्छ ।
यो टेक वे जस्तै सेवा भएपनि गाडीबाट नै अर्डर गरेर गाडीमै खाना पनि सकिन्छ । रेष्टुरेन्टमा पनि गाडीमै बसेर खाने व्यवस्था पनि छ । त्यहाँ रहेको पार्किङमा गाडी राखेर त्यहि अर्डर अनुसारको खाना र खाजा खान सकिने छ । खाना अर्डर गरेर रेष्टुरेन्टकै पार्किङभित्र आफ्नै गाडीमा खाना सकिने भएकाले अहिलेको समयमा यसलाई रेष्टुरेन्टभित्रभन्दा बढि सुरक्षित मानिन्छ ।
पछिल्लो समय काठमाडौंमा मानिसहरुको व्यस्तता धेरै बढेको र निजी सवारी साधान चलाउनेको संख्यापनि बढेकोले ‘ड्राइभ थ्रु’ लोकप्रिय हुने अर्काे सञ्चालक मुक्ति दाहालले बताए । ‘नेपालमै पहिलो पटक भएकोले केहि समय मानिसहरुलाई बुझ्न र बुझाउन गाह्रो हुन सक्छ,’ दाहालले भने, ‘तर पछि यो स्थापित हुँदै जान्छ ।’
पछिल्लो पटक पाँच तारे होटलदेखि रेष्टुरेन्टहरुले अहिले होम डेलिभरी र प्याकिङको सुविधा दिन थालेका छन् । बढ्दो व्यस्ततालाई मध्यनजर गरी केहि वर्ष अघिबाट विभिन्न अनलाइन पोर्टलहरु बनाएर होम डेलिभरीको सुरुवात गरिएको थियो ।
लकडाउनकै बीचमा सरकारले पनि टेक वेका लागि रेष्टुरेन्टहरु असार १ गतेबाटै खोल्न अनुमति दिएसँगै अधिकाशं सञ्चालनमा आइसकेको छ । केहि चेन रेष्टुरेन्ट बाहेक सबैले टेक वे सुविधा दिन थालिसकेका छन् ।