काठमाडौं । उद्योगी लामो समयदेखि उपभोक्तालाई झुक्याएर रड बिक्री गरिरहेको पाइएको छ । सरकारले उद्योगीलाई आफ्नो उत्पादनमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी लेख्न बाध्य नबनाएका कारण उपभोक्ताले कुन रड किनेर उपयोग गरिरहेका छन् भन्नेसम्म थाहा नपाएको उपभोक्ताकर्मीहरु बताउँछन् ।
‘संसारभर प्राइमरी र सेकेन्डरी रड उत्पादन हुन्छ । प्राइमरी रड बन्ने र सेकेन्डरी रड बन्ने कच्चा पदार्थ नै फरक फरक हुन्छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘तर, नेपालमा उद्योगीले जुनसुकै कच्चा पदार्थबाट बनेको भए पनि रड भनेर बेचिरहेका छन् ।’
खानीबाट आएको फलामलाई ब्लास्ट फर्नेक्समा हालेर त्यहाँबाट रड बनाउँछन्, जसलाई प्राइम स्टिल भनिन्छ । सेकेन्डरी भनेको ‘स्क्रयाब‘ तथा स्पोन्ज आइरनलाई भट्टीमा पगालेर बनाइने रड हो । कुन राम्रो वा कुन नराम्रो भन्नु भन्दा पनि उपभोक्ताले सेकेन्डरी कच्चा पदार्थबाट बनेको रड प्रयोग गरिरहेको छ कि प्राइमरी कच्चा पदार्थको प्रयोगबाट बनेको रड प्रयोग भइरहेको छ भन्ने थाहा पाउन पनि सरकारले उद्योगीलाई अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी लेख्न बाध्य बनाउनुपर्ने तिमिल्सिनाको भनाइ छ ।
उनका अनुसार, नेपालसहित संसारभर प्राइमरी र सेकेन्डरी दुवै कच्चा पदार्थबाट रड बनाइन्छ । फरक यति मात्रै छ कि, नेपालमा प्राइमरी र सेकेन्डरी कच्चा पदार्थबाट बनेको रड भनेर लेखिदैन । अन्य देशमा लेखिन्छ । उपभोक्ताले आफ्नो रोजाईको रड किन्न सक्ने उनीहरुको भनाइ छ
उपभोक्ताकर्मीका अनुसार सिमेन्टमा ओपीसी, पीपीसी पीएससी लेखेजस्तै रडमा पनि प्राइमरी र सेकेन्डरी लेख्नुपर्छ ।
प्राइमरी र सेकेन्डरी स्टिलको गुणस्तरमा पनि धेरै फरक हुन्छ । एक पटक प्रयोग भइसकेको फलामलाई पुनः पगालेर बनाउने रड भन्दा भर्जिन कच्चा पदार्थबाट बनेको रडको गुणस्तर धेरै राम्रो हुने उद्योगीहरु नै बताउँछन् ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँका सरकारले जसरी ओपीसी र पीपीसीको आ–आफ्नै मापदण्ड बनाएको छ । ’दुवै सरकारी मापदण्ड अनुसार चालेका छन् । तर, उपभोक्ताले कुन सिमेन्ट किन्दै छु भन्ने कुरा थाहा पाउँछन् । तर, रडमा त कुन स्टिल किन्दै छु भन्ने थाहा नै पाउँदैनन् । किनभने, रडमा सेकेन्डरी र प्राइमरी भनेर लेखिएको हुँदैन । उपभोक्तालाई बेच्दा यो सेकेन्डरी र यो प्राइमरी भनेर भन्नुपर्यो ।’ उनले भने ।
एउटै फ्याक्टीले प्राइमरी र सेकेन्डरी रड बनाउन सक्छ । बनाइरहेका पनि छन् । तर, त्यसमा कुन प्राइमरी स्टिल, कुन सेकेन्डरी स्टिल भनेर लेखिँदैन । नलेख्ने वित्तिकै उपभोक्ताले कुन स्लिट खरिद गर्यो भने थाहा नहुने उनको भनाइ छ ।
अहिलेसम्म बजारमा रड मात्रै पाइन्छ । प्राइमरी भनेको भर्जिन कच्चा पदार्थबाट बनेको हुन्छ, सेकेन्डरी एक पटक प्रयोग भइसकेको फलामलाई पगालेर पुन रड बनाइएको हुन्छ भन्ने कुरा उपभोक्तालाई थाहा दिनुपर्ने उनीहरुको भनाइ छ ।
संसारभर दुवै रडको प्रयोग हुन्छ । भारतमा त ९० प्रतिशत स्टिल उद्योगले सेकेन्डरी कच्चा पदार्थबाट रड बनाइरहेका छन् । तर, उनीरुले प्राइमरी र सेकेन्डरी लेख्ने गरेको उनको भनाइ छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्राइमरी र सेकेन्डरीको आ–आफ्नै गुणस्तर भए पनि लेख्न बाध्यकारी नबनाइएको बताए । ‘अहिलेसम्म रड भनेर बजारमा गइरहेको छ । सिमेन्टमा जसरी यसलाई लेखिँदैन्,’ उनले भने, ‘यस विषयमा हामी सोच्छौं ।’
उद्योगीहरु पनि सरकारले बाध्य बनाएको अवस्थामा प्राइमरी र सेकेन्डरी लेख्न तयार रहेको बताएका छन् ।
‘अहिलेसम्म लेख्नु पर्दैन्, हामीले नलेखी रड मात्रै बेचिरहेका छौं,’ एक उद्योगीले भने, ‘यदि सरकारले सिमेन्टमा जसरी यसमा पनि लेख्न भन्छ भने हामी तयार छौं ।’
भारतमा टाटा, स्टिल अथोरटी अफ इन्डिया लिमिटेड, राष्ट्रिय स्पात निगम लिमिटेडले सेकेन्डरी कच्चा पदार्थबाट रड बनाउँदैन् ।