वीरगन्ज । केन्द्रीय बैंकले साउन २ गते ल्याएको मौद्रिक नीतिलाई आर्थिक राजधानी वीरगन्जले पनि स्वागत गरेको छ । बजेटबाट चरम निराश बनेका वीरगन्जका उद्योगी÷व्यवसायीलाई मौद्रिक नीतिले आस जगाएको बारा÷पर्साका उद्योग वाणिज्य संघले निकालेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यद्यपि, उनीहरुले मौद्रिक नीति छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
पुनर्कर्जा सम्बन्धी व्यवस्थाले उद्योगी÷व्यवसायीलाई मद्दत पुर्याउने विश्वास लिएको छ । कर्जाको स्रोत परिचालन अनुपात वृद्धिले तरलता बढाउन सहयोग पुग्ने विश्वास वीरगन्जका उद्योगीको छ । त्यसैगरी, चालू पुँजी कर्जाको सीमामा २० प्रतिशतसम्म अतिरिक्त कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पुर्याउने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिए ।
बाणिज्य बैंकले कृषि, उर्जाको क्षेत्रमा गर्नुपर्ने लगानीसम्बन्धी व्यवस्थाले कृषिको आधुनिकिकरण र उर्जाको विकासमा मद्दत पुग्ने उद्योगीको भनाइ छ । साथै वाणिज्य बैंक, विकास बैंक, तथा वित्त कम्पनीले निश्चित प्रतिशत रकम लघ, घरेलु, साना एवम् मझौला उद्यमका साथै पर्यटन लगायतका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने व्यवस्थाले यी क्षेत्रको विकासमा मद्दत पुग्ने बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले जानकारी दिए ।
त्यसैगरी सञ्चालनमा आउन नसक्ने कम्पनी तथा फर्म बन्द गर्न चाहेमा बक्यौता ब्याज मिनाह गरी सहज बर्हिगमनको व्यवस्था र उधारो संकलन सम्बन्धी कानुनी व्यवस्था हुनुपर्ने तथा बैंकले उठाउने निक्षेप र लगानी गर्ने कर्जाबीचको भारित स्प्रेड दर ३ प्रतिशत कायम हुनुपर्ने माग निजी क्षेत्रले राखेपनि त्यसलाई केन्द्रीय बैंकले समेट्न नसकेको जीतपुर÷सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहले बताए । केन्द्रीय बैंकले ल्याएका बाँकी विषयलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्नुपर्ने बताइएको छ ।
थप
expand_moreकम
expand_less