काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको एउटा निर्णयले देशभित्र रहेको आधा दर्जन उद्योग प्रत्यक्ष मर्कामा परेका छन् । डा. खतिवडाले बजेटमार्फत विदेशबाट आयातित चक्लेटको भन्सार घटाउँदा त्यसको प्रत्यक्ष असर आधा दर्जन उद्योगलाई पुगेको हो ।
केही सीमित व्यापारीलाई राहत दिन अर्थमन्त्री खतिवडाले चक्लेटको भन्सार घटाउँदा स्वदेशी चिनी, डेरी, आँटा, चक्लेट, विस्कुट उद्योग प्रत्यक्ष मर्कामा परेका छन् ।
सरकारले विस्कुट र चक्लेटको भन्सार घटाउने बित्तिकै देशभित्र रहेका सम्पूर्ण चक्लेट र विस्कुट उद्योग एकैचोटी समस्यामा परे । उनीहरुले आयातीत चक्लेट तथा विस्कुटसँग प्रतिस्पर्धा गर्न नसकेपछि अहिले आफ्नो क्षमता घटाइरहेको उद्योगीहरु बताउँछन् ।
‘३० प्रतिशत भन्सारमै चक्लेट तथा विस्कुट भित्रिन थालिसक्यो । स्वदेशी उत्पादनले आयातीत चक्लेट तथा विस्कुटसँग प्रतिस्पर्धा गर्न सकेन । क्षमता घटाउनुको विकल्प नै रहेन’ एक विस्कुट उद्योगका लगानीकर्ताले क्यापिटल नेपालसंग भने, ‘स्वदेशी उद्योगीलाई संरक्षण गर्नुको साटो विदेशी वस्तुको आयातलाई सहज गर्नतर्फ सरकार लागेपछि कसरी प्रतिस्पर्धा गर्न सकिन्छ ।’
सरकारले चक्लेट तथा विस्कुटको भन्सार घटाउने बित्तिकै विस्कुट र चक्लेट उद्योग गम्भीर समस्यामा परिहाले । उनी समस्यामा पर्ने बित्तिकै त्यो चेफ इफेक्ट अन्य उद्योगलाई पनि परेको छ ।
भन्सार घट्नुअघि विस्कुट र चक्लेट उद्योगीले जुन परिमाणमा चिनी उद्योगसँगबाट चिनी किनेर लैजान्थे, अहिले २० देखि ३० प्रतिशत कम भइसकेको छ । विस्कुट र चक्लेट उद्योग लागि चिनी कच्चा पदार्थ हो । उनीहरुले आफ्नो क्षमता नै घटाएपछि स्वतः चिनी पनि कम खरिद गर्न थालेको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।
स्वदेशी विस्कुट र चक्लेट उद्योगले स्वदेशी चिनी उद्योगबाट चिनी खरिद गरेर लैजाने गरेका थिए । चिनी खरिदको परिणम ह्वात्तै घटेको छ । यदि चिनी बिक्री हुन छाडेको अवस्थामा फेरी किसानले उखुको भुक्तानी नपाउने सम्भावना बढ्ने उद्योगीहरु बताउँछन् । उद्योगीका अनुसार ६५ प्रतिशत चिनी उद्योगले खपत गर्छन् ।
त्यसैगरी, विस्कुट र चक्लेटको भन्सार वृद्धिपछि त्यसको प्रत्यक्ष असर आँटा र मैदा उद्योगलाई पनि पुगेको छ । स्वदेशी उद्योगले चक्लेट वा विस्कुट बनाउन मैदा र आँटा खरिद गर्ने गरेका थिए ।
तर, सस्तोमै विदेशबाट चक्लेट र विस्कुट आयात हुने भएपछि यहाँका उद्योगले विस्तारै क्षमता घटाउँदै जाने र त्यसको असर मैदा र आँटा उद्योगमा पनि पुग्ने सम्बद्ध उद्योगीहरु बताउँछन् । विस्कुट र चक्लेटको कच्चा पदार्थ मैदा र आँटा हो ।
सरकारले एकातिर स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताइरहेको छ भने अर्कोतिर सरकारी निर्णयका कारण स्वदेशी उद्योगी संकटमा परिरहेका छन् ।
अहिले नेपालमै सस्तोदेखि महँगोसम्म गुस्तरिय चक्लेट र विस्कुटहरु उत्पादन भइरहेका छन् । नेपालबाट विदेश चक्लेटसमेत निर्यात गर्ने तयारी भइरहेका बेला अर्थ मन्त्रालयले चक्लेटको भन्सार सस्तो बनाउने नीति लिएको छ ।