काठमाडाैं। पर्यटन विभागका तत्कालीन निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा परेकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध बिहीबार अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार उनले २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा विभिन्न शीर्षकबाट २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँभन्दा बढी आयआर्जन गरेको देखिएको छ। जसमा पारिश्रमिक, भ्रमण भत्ता, जीवन बिमा, हिमाल आरोहण सम्पर्क अधिकृत भई पाएको रकम, परामर्श सेवा, घर बहाल, बैठक भत्ता, कर्मचारी सञ्चय कोष, बैंक कर्जा, कृषि आय, जग्गा बिक्री, बैंक ब्याज तथा सेयर बिक्रीबाट प्राप्त रकमसमेत समावेश छ।
सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण, बैंक कर्जा भुक्तानी, सेयर खरिद, शैक्षिक खर्च, जीवन बिमा प्रिमियम, बैंक मौज्दातलगायत शीर्षकमा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँभन्दा बढी खर्च र लगानी गरेको पाइएको अख्तियारले जनाएकाे छ। यसरी करिब ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि नभएकाे दाबी गर्दै अख्तियारले उनले पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आराेप लगाएकाे छ।
उनलाई ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको बिगो मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।