काठमाडौं । मैदामा देश आत्मनिर्भरउन्मुख भइसके पनि अर्थमन्त्री डा. युवराज खतिवडाका कारण पुन परनिर्भर हुने अवस्था आएको छ । अर्थमन्त्री खतिवडाले बजेटमार्फत गहुँको भन्सार ५ प्रतिशत बढाएर मैदाको सरह बनाएपछि देश मैदामा पुन परनिर्भर हुन थालेको हो ।
स्वदेशी उद्योगीले ९ प्रतिशत भन्सार तिरेर गहुँ ल्याएर मैदा बनाउँदा त्यसको लागत मूल्य बढी हुन्छ । लागत बढी हुने बित्तिकै यहाँको उत्पादन बिक्री हुँदैन ।
स्वदेशी मैदाको लागत बढी हुने बित्तिकै चौधरी ग्रुपको वाइवाई, रमपम, रारालगायतका अन्य चाउचाउ उद्योगले भारतबाट मैदा मगाइसकेका छन् । स्वदेशी उद्योगले ९ प्रतिशतमा गहुँ ल्याएर मैदा बनाउँदा उनीहरुको लागत १४/ १५ प्रतिशत पुग्यो ।
तर, भारतबाट ९ प्रतिशत भन्सार तिरेर मैदा नै आयात गर्न सकिने भएपछि उद्योगीले भारतबाट मैदा झिकाउन थालेका हुन् ।
भन्सार विभागका अनुसार भैरहवाको सुनौली नाकाबाट विभिन्न उद्योगीले मैदा झिकाइरहेका छन् । मैदालाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगले सम्पूर्ण मैदा स्वदेशी उद्योगबाटै किन्थे ।
तर, सरकारले बजेटमार्फत मैदा र गहुँको भन्सार समान बनाएपछि स्वदेशी उत्पादन बढी भयो र यहाँको माल बिक्न छाडेको उद्योगीहरु बताउँछन् ।
सरकारले कच्चा पदार्थ र तयारी वस्तुको भन्सार एक तह फरक गराउने बताए पनि व्यवहार अर्कै गर्दा स्वदेशी मैदा उद्योग संकटमा पर्न थालेको उद्योगीहरुको भनाई छ ।
उद्योगीका अनुसार स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने नीति अख्तियार गर्नुपर्नेमा उल्टै सरकारले उद्योग बन्द गराउनेतर्फ उन्मुख भएको छ ।
सरकारले गहुँको भन्सार बढाएर मैदाको सरह पुर्याएपछि भारतबाट मैदा आउन थालेको छ । अर्थमन्त्री डा. खतिवडाले बजेटमार्फत गहुँको भन्सार ५ बाट ९ प्रतिशत पुर्याएपछि विदेशबाट मैदा झिकाउन थालिएको हो ।
यद्यपि, अर्थमन्त्री खतिवडाले स्वदेशमा गहुँको उत्पादन बढाउनका लागि भन्सारदर बढाएको बताएका छन् । ‘तर, मैदा र गहुँको भन्सार समान भएछ, त्यसलाई मैले गम्भीर रुपमा लिएको छु’ खतिवडाले केही समय अघि संघीय संसद्मा बोल्दै भनेका थिए । तर, अहिलेसम्म उनले यस विषयमा निर्णय गरेका छैनन ।
चाउचाउ, बिस्कुट, चाउमिन, रोटी, पाउरोटीलगायत वस्तुको कच्चा पदार्थ मैदा हो । यी उद्योगहरुले यस अघिसम्म स्वदेशी उद्योगबाट मैदा खरिद गर्थे । अहिले ती उद्योगीले भारतबाट मैदा मगाइसकेका छन् ।
देशभित्र ३२ ओटा मैदा उद्योग सञ्चालित छन् । यहाँका मैदा उद्योगले मासिक रुपमा एक लाख टन मैदा उत्पादन गर्दै आएका छन् भने एउटा मैदा उद्योगमा औसत ७० करोड रुपैयाँ लगानी भएको छ । अर्थमन्त्री खतिवडाकै कारण ३२ ओटा उद्योगको भविष्य संकटमा परेका छन ।