काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ६ वटा प्रमुख होटल तथा पर्यटन कम्पनीहरूले गत आर्थिक वर्षमा आफ्नो खुद नाफामा ७९.२६ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गर्दै सुखद वित्तीय प्रदर्शन गरेका छन्।
यस अवधिमा यी कम्पनीको कुल आम्दानीमा ०.०९ प्रतिशतको सामान्य गिरावट आएको छ।
आम्दानीमा कमी, नाफामा ठूलो फड्को
नेप्सेमा सूचीकृत पाँच तारे होटलमध्ये ६ कम्पनीले गत आर्थिक वर्षमा सामूहिक रूपमा ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ कुल आम्दानी गरेका छन्। यो अघिल्लो वर्षको ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको तुलनामा ६२ लाख रुपैयाँले कम हो।
आम्दानीमा आएको यो सानो कमीका बावजुद यी कम्पनीको खुद नाफामा भने नाटकीय सुधार देखिएको छ। अघिल्लो वर्ष कुल ७० करोड रुपैयाँ खुद नाफा कमाएका यी होटलहरूले गत वर्ष एक अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।
कुन होटलको अवस्था कस्तो?
व्यक्तिगत कम्पनीको वित्तीय प्रदर्शनलाई केलाएर हेर्दा केही कम्पनीले उत्कृष्ट प्रदर्शन गरेका छन्। केही अझै चुनौतीमा रहेको देखिन्छ।
तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी)- यस कम्पनीले गत वर्ष १ अर्ब ७३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ०.१४ प्रतिशतले कम हो। यसले ५१ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने प्रतिसेयर आम्दानी २६.२७ पैसा कायम भएको छ।

सोल्टी होटल- यसले गत वर्ष दुई अर्ब ७७ करोड रुपैयाँ कुल आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १०.८७ प्रतिशतले कम हो। यसको खुद नाफा ६७ करोड ७ लाख रुपैयाँ रहेको छ र प्रतिसेयर आम्दानी ६.५६ पैसा छ।
चन्द्रागिरि हिल्स- २०६६ सालमा स्थापना भएको यस कम्पनीले केबलकार र पाँच तारे रिसोर्ट सञ्चालन गर्छ। यसले ७८ करोड २४ लाख रुपैयाँ कुल आम्दानी गर्दै २१ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यसको प्रतिसेयर आम्दानी १३.७५ पैसा कायम भएको छ।
ओरियन्टल होटल्स (र्याडिसन)- यसको आम्दानी ११.६० प्रतिशतले घटेर एक अर्ब ७ करोड रुपैयाँमा झरेको छ। कम्पनीले तीन करोड रुपैयाँ खुद नाफा कमाएको छ। प्रतिसेयर आम्दानी १.२५ पैसा छ।
सिटी होटल्स (हायात सेन्ट्रिक)- यस होटलले ५२ करोड २३ लाख रुपैयाँ कुल आम्दानी गरे पनि १९ करोड ८९ लाख रुपैयाँको ऋणात्मक नाफा देखाएको छ। कम्पनीका अनुसार, सञ्चालकसँग ५६ करोड ८० लाख रुपैयाँ बिना ब्याज ऋण बक्यौता रहेको र त्यसैकारण नाफा ऋणात्मक हुन पुगेको हो।

कालिन्चोक दर्शन- सबैभन्दा उत्साहजनक वृद्धि कालिन्चोक दर्शनमा देखिएको छ। यसले आम्दानीमा ३५.६६ प्रतिशतको वृद्धि हासिल गर्दै सात करोड ६३ लाख रुपैयाँ कुल आम्दानी गरेको छ।
यसको खुद नाफा २ करोड ७८ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ४.७३ पैसा कायम भएको छ।
समग्रमा, कालिन्चोक दर्शन र सोल्टी होटलबाहेक सबै होटलको आम्दानी घटे पनि नेप्सेमा सूचीबद्ध होटलले आफ्नो सञ्चालन खर्चलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै नाफामा उल्लेख्य सुधार ल्याएका छन्।
यसले नेपालको होटल तथा पर्यटन क्षेत्रको वित्तीय अवस्था सकारात्मक दिशामा अघि बढिरहेको संकेत गर्दछ। आगामी दिनमा थप सुधार हुने अपेक्षा गरिएको छ।
