नेटवर्किङको अध्ययन गर्न संसदीय उपसमिति गठन 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १५, बिहीबार,०४:००:PM  
नेटवर्किङको अध्ययन गर्न संसदीय उपसमिति गठन 

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यापारबारे अध्ययनका लागि एक समिति गठन गरेको छ । 

सरकारले नेटवर्किङ व्यापारका लागि स्वीकृति दिन थालेपछि समितिमा उजुरी परेको थियो । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट मन्त्रालयका सचिव लगायतलाई समितिले यसबारे छलफलका लागि बोलाएको थियो । 

छलफलका क्रममा अधिकांश सांसदले नेटवर्किङ व्यवसाय बन्द गर्न माग गरेपछि समितिले समितिका सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाएको छ ।

समितिमा पाण्डेसहित प्रकाश रसाइली, अमृतादेवी अग्रहरी, सरितादेवी गिरी र कृष्णकुमार श्रेष्ठ सदस्य रहेको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए । 

बैठकमा उद्योगमन्त्री भट्ट तथा मन्त्रालयका सचिवले वस्तुको प्रत्यक्ष बिक्री ऐन अनुसार हुने नेटवर्क व्यवसाय पहिलाको जस्तो ठगी हुने पिरामिड आकारमा सदस्य बनाएर व्यापार गर्ने पद्धति  नभएको दावी गरे । 

तर बैठकमा सहभागी सम्पूर्ण सांसदहरुले भने नेटवर्किङ व्यापार ठगी गर्ने नयाँ शैलीमा आएको भन्दै त्यसलाई बन्द गर्न माग गरे ।

यो समितिलाई वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४, अनुसार व्यवसाय गर्ने अनुमति पाएका ७ वटा नेटवर्क व्यवसाय गर्ने कम्पनी लगायतको अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top