काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले गत असोजमा देशभरका मालपोत कार्यालयले कुल २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व संकलन गरेको जनाएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुई दर्जन बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुग्दा राजस्व संकलनमा बाधा देखिएको हो।
चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ हुँदा राजस्व संकलन सामान्य रहेको विभागले बताएको छ। विभागका अनुसार गत असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार दुई सय ६०, रजिष्ट्रेशन शुल्क १ अर्ब ४४ करोड १६ लाख ८७ हजार ७५५ संकलन भएको छ।
यस्तै, पुँजीगत लाभकर १ अर्ब ६ करोड १९ लाख ३५ हजार ५३७ संकलन भएको छ। विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौंले २७ करोड ४२ लाख ९६ हजार दुई सय १०, आगलागी र तोडफोडमा परेको कलंकी मालपोत कार्यालयले ४१ लाख ५० हजार तीन सय ७१ बराबरको राजस्व संकलन गरेको छ।
यसैगरी मालपोत कार्यालय बुटवलले रु पाँच करोड तीन लाख ५६ हजार ६ सय ३९, मालपोत कार्यालय दमक झापाले दुई करोड ८६ लाख ४१ हजार तीन सय ९०, मालपोत कार्यालय मनमैजु काठमाडौंले चार करोड ७७ लाख २३ हजार ३६१ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ।
गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएका छन्। यस्तै, २ हजार ४४२ वटा नामसारी, रोक्का २३ हजार ९१४, फुकुवा १७ हजार ९३० सहित ७९ हजार ७३९ वटा घरजग्गा सम्बद्ध कारोबार भएका छन्।