केही दिनयता फेरी नेपाल विद्युत प्राधिकरणको लापरवाहीको शिकार औद्योगिक क्षेत्रका साथै व्यक्तिगत विद्युत् उपभोक्ता पनि परेका छन् । खासगरि गुणस्तरिय विद्युत आपूर्ति नहुँदा मुलुकका धेरै ठाउँमा बारम्बार विद्युत् गईरहेको छ । जसका कारण उपभोक्ताहरु मारमा परिरहेका छन् ।
यस्तो समस्या नयाँ भने होइन । प्राधिकरणले २०७४ मा लोडसेडिङ अन्त्य भएको घोषणा गरेसँगै ‘लाइन ट्रिपिङ’ (झ्याप्प झ्याप्प बत्ती जाने, कतिपय बेला क्षमताभन्दा कम विद्युत आपूर्तिको समस्या चरम रुपमा देखिएको थियो । त्यसलाई प्राधिकरण सुधार गर्दै गएको भनिए पनि उपभोक्ताहरु हैरान थिए ।
गत चैत ११ गतेदेखि कोरोना भाइरसको महामारी बढ्ने आशंकामा नेपालमा पनि बन्दाबन्दी (लकडाउन) भयो । यसले औद्योगिक कलकारखाना मात्र बन्द भएन व्यवसायीक क्षेत्र पनि ठप्प भयो । विद्युत खपतमा ठूलै गिरावट आयो । लकडाउनका समयमा विद्युत आपूर्ति सहज भएकाले लाईन ट्रिपिङको समस्या देखिएन । साउन सुरुवातसँगै लकडाउन खुलेर व्यवसायिक प्रतिष्ठान र कार्यालयहरु नियमित हुन थालेपछि लाइन ट्रिपिङको समस्या बल्झिएको छ ।
लाइन ट्रिपिङको समस्याले प्रमुख औद्योगिक क्षेत्र हेटौडा, वीरगन्ज, भैरहवालगायत मुलुकभरका उद्योगहरुले ठूलै समस्या व्योेहरेका छन । त्यतिमात्र होइन यसबीचमा अधिक लाइन ट्रिपिङको समस्याले विभिन्न औद्योगिक क्षेत्रका अधिकांश उद्योगहरु बन्द गर्नुपर्ने अवस्था समेत सिर्जना भयो । व्यवसायीहरुकाअनुसार लकडाउनका कारण अझै पूर्ण रुपमा उद्योग÷प्रतिष्ठान खुलेका छैनन् ।
अधिक लाइन ट्रिपिङको समस्याले खोलिएका उद्योग/प्रतिष्ठान पनि बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । प्राधिकरणले औद्योगिक क्षेत्रमा छुट्टै लाइन दिने गरेको पनि छ । औद्योगिक क्षेत्रमा जाने विद्युत् पनि गुणस्तरीय नहुँदा उद्योगहरुका उपकरणहरु बग्रिने र त्यसले प्रतिष्ठानहरुलाई ठूलो घाटा लागेको छ ।
प्लाष्टिक प्रशोधन उद्योगमा केही सेकेन्ड मात्र लाइन ट्रिपिङ हुँदा पग्लेको प्लाष्टिक सबै बिग्रन्छ । पुनः सञ्चालन गर्न मेसिन तातेर काम गर्ने अवस्थामा पुग्न पनि एक घन्टा थप समय लाग्छ । यसबाट उद्योगले नोक्सानी व्यहोर्नुपर्छ । प्लास्टिक त एउटा उदाहरण मात्र हो । यस्तो समस्या सिमेन्ट, स्टीललगायतका धेरै उद्योगहरुमा देखिएको छ । बारम्बार एउटै समस्या दोहोरिँदा उद्योगका धेरै उपकरणहरु छिटो बिग्रने हुन्छ ।
लाइन ट्रिपिङका कारण घरायसी प्रयोगका किट्ली, राईसकुकर, एसी, फ्रिज, पानी तान्ने मेसिन (वाटरपम्प) इन्डक्सन चुल्हो बल्व÷ट्यूवलाइट छिटो बिग्रने अनुभव घरायसी उपभोक्ताहरुको छ । लोडसेडिङ अन्त्य भएको बहानामा जुनसुकै समयमा लाइन जाने र लाइन आउने कुनै टुङ्गो नहुँदा उपभोक्ताहरु हैरान भईरहेका छन् ।
प्राधिकरणले पुराना र कम क्षमताका प्रसारण लाइनका कारण बढी क्षमता उपयोग गर्दा, ट्रान्सफर्मर मर्मतका कारण लाइन ट्रिपिङको समस्या आउने गरेको बताउँदै आएको छ । लाइन ट्रिपिङलाई प्राधिकरणले प्राविधिक गडबडी, बाढी, पहिरोलाई दोष लगाउँदै यस्तो गडबडी आफूहरुको नियन्त्रणमा नहुने दावी गर्दै आएको छ ।
प्राकृतिक विपत्तीका कारण सिर्जित समस्यामा प्राधिकरणको कुनै हात नहुने भएपनि प्राविधिक कमजोरी भनेर वा प्रसारण लाईन र वितरण प्रणालीमा सुधार हुँदैछ भनेर प्राधिकरण उम्कने अवस्था आउनु हुँदैन । प्राधिकरणको सानो लापरवाहीले मात्रै पनि उपभोक्ताले कति क्षति व्यहोर्नुपर्छ, त्यसको लेखाजोखा हुनैपर्छ । जहाँ प्राधिकरण आँफैले ‘सिस्टम फेल’ भएर समस्या आएको भनेर स्वीकारेको छ र उद्योगहरुलाई ठूलो क्षति भएको छ भने किन त्यसको मूल्यांकन गरि क्षतिपूर्ति नदिने ?
नेपालको संविधान (२०७२)को धारा ४४ मा उपभोक्ताको हकका विषयमा बोलिएको छ र संविधानले गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने संवैधानिक अधिकारको सुनिश्चितता गरेको छ । त्यस्तै उपभोक्ता संरक्षण ऐन २०७५ ले पनि उपभोक्तालाई हुनसक्ने हानी, नोक्सानी वापत क्षतिपूर्ति गराउनुनर्पे व्यवस्था छ । तर, सरकारले आफूमातहतको संस्थालाई छाडा छोडिँदिँदा उपभोक्ताहरु निरन्तर पीडित हुँदै आएका छन् ।
विद्युत खपतलाई बढाउन कम्मर कसेर लागेको प्राधिकरण र विद्युत खपत बढाउन जोड दिँदै आएको सरकारले गुणस्तरिय विद्युत वितरणमा भने खासै ध्यान केन्द्रित गरेको पाईंदैन । विद्युत वितरणमा एकाधिकार रहेको प्राधिकरणले यो वा त्यो वहानामा गुणस्तरहीन विद्युत् आपूर्ति गरेबाट भएको जोखिम/क्षतिको आंकलन र क्षतिपूर्तिको व्यवस्था तत्काल कार्यान्वयनम नल्याउँदासम्म प्राधिकरणको मनोमानी संधै रहनेछ ।