काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्ने नाममा भारत तथा तेस्रो मुलुकबाट सामान बोकेर आएका कन्टेनरलाई थानकोटमै रोकेको छ ।
थानकोट प्रहरीले त्यहाँ आइपुगेका कन्टेनरलाई काठमाडौं प्रवेश गर्न नदिएपछि उताबाट आएका गाडीको लाइन ३ किलोमिटर भन्दा बढी भइसकेको छ। यता व्यवसायीले डेमरेज र डिटेन्सनको मार खेपिरेहका छन् ।
‘कि भारतबाटै नेपाल प्रवेश गर्न नदिएको भए हुन्थ्यो । विभिन्न देशको सामान बोकेर नेपाल प्रवेश दिने तर काठमाडौं प्रवेश रोक्ने सरकारी काम गलत भएको छ,’ एक व्यापारीले भने, ‘कन्टेनरमा आएको सामानलाई अनलोड गोदाममा राख्ने हो । अन्यत्र लगेर बेच्ने होइन भन्दा पनि प्रहरीले भित्र छिर्न नदिँदा व्यवसायीले दैनिक रुपमा लाखौको क्षति व्यहोरिरहेका छन् ।’
‘आखिर सयौं किलोमिटर पार गरेर कन्टेनर थानकोट आइपुगेका छन् । गोदाम छेवैमा आइपुगेका कन्टेनरलाई रोक्नु कहाँसम्मको न्यायोचित कुरा हो’ ? ती व्यवसायीले भने ।

व्यवसायीका अनुसार सरकारले भन्सार असुल्न कन्टेनर नेपाल भित्र छिराउने र बीच बाटोमै रोकेर राख्ने काम भइरहेको छ । ‘यदि गन्तव्यसम्म पुर्याउन नदिने हो भने सुख्खा बन्दरगाहमै रोकिदिए हुन्छ नी,’ एक व्यवसायीले भने, ‘भन्सारबाट ट्रक तथा कन्टेनर पास नगराउँदा भन्सार असुली हुँदैन । भन्सार असुली नहुने बित्तिकै कर्मचारीले तलब खान पाउँदैनन्, त्यही भएर भन्सार पास गराउने र बीच बाटोमै अलपत्र पार्ने काम भइरहेको छ ।’
सरकारले आफैले विदेशबाट सामान आयात गर्न निर्वाध रुपमा दिने भनेकाले सामान मगाएका उनको भनाई त । सरकारले आफू जुनसुकै हालतमा राजस्व उठाउने र सामानलाई गन्तव्यसम्म पुर्याउन रोक्न लागिपरेको व्यवसायीहरुको आरोप छ ।
अहिले थानकोट प्रहरीले घर छेवैममा आइपुगेका रोकेकाले कन्टेनरको लाइन नौविसेसम्म पुगिसकेको छ । एकातिर कन्टेनरका चालक तथा सहचालक खाने बस्ने व्यवस्था छैन भने अर्कोति व्यापारीले सरकारका कारण दैनिक रुपमा लाखौं रुपैयाँ डेमरेज र डिटेन्सन चार्ज तिर्नुपर्ने अवस्था सिर्जना भइरहेको ती व्यवसायीको भनाइ छ ।
भारतसहित तेस्रो मुलुकबाट आएका कन्टेनर छुटाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुन्ठ अर्याल लागे पनि उनको प्रयास सफल हुन सकेको छैन् । मन्त्रालय स्रोतका अनुसार सचिव अर्यालले गृह मन्त्रालयसँग समन्वय गरिरहेका छन् । तर, त्यसले अहिलेसम्म अन्तिम रुप पाएको छैन् ।
‘सचिवज्यू थानकोटमा रोकिएका कन्टेनर तथा ट्रक छुटाउन लागिरहनु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर अहिलेसम्म प्रहरीले छोड्न मानेको छैन ।’
व्यवसायीले थानकोट आइपुगेको सामानलाई गोदाममा ल्याएर राख्न मात्रै खोजेको हो । गोदाममा राख्न पाए, डिटेन्सन र डेमरेजको मार खेप्न नपर्ने व्यवसायीहरु बताउँछन् ।
उनीहरुका अनुसार सरकारको एउटा मात्रै उद्देश्य भनेको अहिलेको अवस्थामा भन्सार असुल्न मात्रै ट्रक तथा कन्टेनर भित्र्याउने र अर्को निकायले बीच बाटोमै रोकेर अलपत्र पार्ने काम भइरहेको आयातकर्ताहरु बताउँछन् ।