काठमाडौं । व्यापारीहरुले सामान उठाउने तर, त्यसको भुक्तानी नदिने प्रबृत्तिले उद्योगी तथा व्यवसायीहरु हैरान भएका छन् । व्यापारीहरुले पुरानो सामानको उधारो तिर्नुको साटो नयाँ व्यवासायी (डिलर)सँग कारोबार गर्ने र नयाँले पनि सामान नदिए सर्टर बन्द गरेर व्यापारीहरु फरार हुने प्रवृत्ति मौलाउँदै गएको छ ।
उद्योगीले उधारोमा सामान बेच्न कडाइ गरेपछि थोक विक्रेता (डिलर)ले पनि खुद्रा व्यापारीलाई उधारो बन्द गरेको र पुरानो उधारो तिर्न ताकेता गर्दा खुद्रा व्यापारीहरु पसल नै बन्द गरेर फरार हुनेको संख्या दिनहुँ बढ्न थालेको छ ।
सुरु सुरुमा एउटा डिलरबाट लाखौको सामान उधारोमा लैजाने र त्यो उधारो तिर्न डिलरवालाले व्यापारीलाई ताकेता गरेपछि उसले त्यसलाई छाडेर नयाँ डिलरसँग सामान उठाउने र नयाँ डिलरले पनि उधारो नदिए व्यवसाय नै बन्द गर्ने गरेको पाइएको हो ।
बैंक ग्यारेन्टी वा चेक ग्यारेन्टी बिनै लाखौं रुपैयाँबराबरको उधारो लैजाने र त्यो उधारो नतिर्ने प्रवृत्ति मौलाउँदै गएको डिलरहरु बताउँछन् । ‘सबै सामान नगदमै बेच्न सम्भव हुँदैन,’ एक डिलर सञ्चालकले भने, ‘सुरु सुरुमा नगदमै सामान लैजाने, पछि पछि जति सामान उधारोमा लैजान्छन्, त्यसको अत्यन्तै कम मात्रै भुक्तानी गर्ने र अन्त्यमा सम्पूर्ण पैसा खाएर फरार हुने प्रवृत्ति मौलाउँदै गएको छ ।’
खासगरी कोरोना भाइरसको संक्रमण रोक्न सरकारले बन्दाबन्दी (लकडाउन) गरेसँगै धेरै स्थानीय व्यापारीहरु सर्टर बन्द गरेर व्यापारीहरु फरार हुने क्रम बढेको हो । यसरी कोरोनालाई देखाएर स्थानीय व्यापाहरु फरारह हुँदा डिलर देखी उद्योगीसम्मको अर्वौं रुपैयाँ डुब्ने अवस्था सिर्जना भएको छ । लकडाउन तथा निषेधाज्ञाका कारण ६ महिनादेखी खाद्यान्नबाहेकका कुनै पनि व्यवसाय सहज ढंगले चल्न सकेको छैन ।
यद्यपी कोरोना संक्रमण बहानाअघि नै पनि व्यापारमा उधारोको मात्रा बढेको भन्दै उद्योगीहरु र व्यवसायीहरुले उठाउने कानुनको माग गर्दै आएका छन् ।
व्यवसायीहरुकाअनुसार पछिल्लो दिनमा व्यापारमा इमान्दारिता भन्ने हराउँदै गएको छ । ‘उधारोमा सामान लैजाने, नगदमा उपभोक्तालाई बेच्ने र त्यो पैसा लिएर फरार हुने क्रम केही समय अघि देखि नै बढ्दै आएको थियो’ एक सीमेन्ट तथा छडको डिलर सञ्चालकले भने, ‘तर, लकडाउन पछि यो क्रम झन बढ्दै गएको छ । सरकारले उधारो उठाउने कानुन नबनाउने हो भने ठूलो समस्या आउने देखिन्छ ।’
व्यवसायीहरुकाअनुसार मुख्य व्यापारीक केन्द्रका रुपमा रहेका काठमाडौं उपत्यकासहित वीरगन्ज, भैरहवा, पोखरा, चितवन, विराटनगरका स्थानीय व्यापारीले सर्टर बन्द गरेर फरार भइसकेका छन् । उनीहरुलाई डिलरवालाले करोडौं रुपैयाँको उधारो दिएका कारण अहिले उद्योगी र डिलरबीच विश्वासको संकट उत्पन्न भएको छ ।
सर्टर भाडा अत्यधिक महँगो भएको तर, लकडाउनले कारोबार गर्न नपाएपछि घरभाडा नै थेग्न नसक्ने अवस्था सिर्जना भएसँगै धमाधम सर्टर बन्द गरेर स्थानीय व्यापारीहरु भाग्न थालेका हुन् । व्यापारीलाई डिलरले बिना धितो करोडौं मूल्य बराबरको सामान उधारोमा दिएकाले अहिले ठूलो समस्या आएको स्वयम् डिलरवालाहरु बताउँछन् । भारतबाट आएर नेपालमा व्यापार गरेका व्यापारीहरु पनि नेपालबाटै पैसा लिएर फरार भएको डिलरहरुको निश्कर्ष छ ।
‘यस्तो अवस्थामा कसरी काम गर्ने भन्ने अवस्था सिर्जना भएको छ’ ब्रान्डेड रङ्को कारोबार गर्ने एक डिलर सञ्चालकले भने, ‘उनीहरुसँग रकम कसरी उठाउने र उद्योगलाई कसरी पैसा तिर्ने भन्ने तनाव सुरु भएको छ ।’ अधिकांस व्यापारीलाई विश्वासका भरमा सामान पठाउने गरिएपनि अब ठगीको मुद्धा चलाउने बाटोमा अघि बढ्ने आफ्नो व्यवसायलाई अघि बढाउने भन्ने कठिन प्रश्न उब्जिएको व्यवसायीहरुको भनाई छ ।