सूर्यबहादुर केसी, जसले पोखरामा औद्योगिक गति दिए

account_box प्रकटकुमार शिशिर ,
प्रकाशित: २०७७ कात्तिक १८, मङ्गलबार,१०:३८:AM  
सूर्यबहादुर केसी, जसले पोखरामा औद्योगिक गति दिए

पोखरा । नेपालमा मात्रै होइन दक्षिण एशियामा नै पहिलो पटक आधुनिक चाउचाउ उद्योग खोल्ने पोखराका स्थापित उद्योगी सूर्यबहादुर केसीको सोमबार साँझ ६५ वर्षको उमेरमा निधन भएको छ । 

व्यवसाय, उद्योग, समाजसेवा र राजनीतिमा सक्रिय केसी पछिल्लो पटक राजनीतिबाट थोरै टाढा बसेर व्यवसाय र उद्योगमा आफ्ना छोराहरुलाई मार्गनिर्देशन दिइरहेका थिए । केसीका प्रकाश केसी, किरण केसी र रोशन केसी गरेर ३ छोराहरु छन् । उनलाई केहि वर्षअघि दिल्ली लगेर मृगौलाको उपचार गरिएको थियो । उनी पछिल्लो पटक मधुमेह र उच्च रक्तचाप रोगको बिरामी थिए । 

यो पनि पढ्नुहोस 
चाउचाउका ‘पायोनियर’ उद्योगपति सूर्यबहादुर केसीको निधन

केसी ग्रुप पोखरालाई नै आधार मानेर नेपालको स्थापित व्यापारिक घराना बनेको हो । पोखरामा नै निर्माण व्यवसाय, चाउचाउ उद्योग, बैंक तथा वित्तीय संस्था स्थापित गरेका केसीले पोखराबाट नै व्यवसायलाई फैलाउँदै लगे । उनले पछिल्लो समयमा जलविद्युत्मा समेत लगानी विस्तार गरेका थिए । उनी पोखरालाई नै सँधै आफ्नो ‘हेडक्वार्टर’ बनाएर व्यवसायलाई ‘मनिटरिङ’ गरिरहे । 

पोखराकै कतिपय व्यवसायी पोखराबाट उदाएर काठमाडौंबाट व्यवसायलाई फराकिलो बनाए पनि केसीले पोखरालाई नै आधार मानेर आफ्नो व्यवसायको दायरालाई बढाउँदै लगे । 

केसीका पिता कीर्तिबहादुर केसी जो भारतमा कामको सिलसिलामा थिए । पोखरा फर्किएपछि निर्माण व्यवसायमा लागे । केसीले आफ्नो बुबाको व्यवसायलाई तेस्रो पुस्तासम्म हस्तान्तरण मात्र गरेनन्, यसलाई विविधिकरण गरेर नेपालको स्थापित व्यापारिक घरानासमेत बनाए । 
सूर्यबहादुरका पिता कीर्तिबहादुरले स्याङ्जा र पोखराको बाटोको निर्माणको जिम्मा लिएका थिए । पोखराको फेवातालको बाँध निर्माणदेखि लिएर सडक र भवनहरुको काम गरेका थिए । 

सूर्यबहादुर सँधै आफ्ना पिता किर्तिबहादुरबाट प्रभावित भएका थिए । बुबासँगै काम र व्यवसाय सिकेका सूर्यबहादुरले २०३० मा केसी कन्ष्स्ट्रक्सन स्थापना गरेर निर्माण व्यवसायलाई नयाँ गति दिएका थिए । 

निर्माण व्यवसायमा स्थापित भैरहेको समयमा केसीले पोखरामा आधुनिक चाउचाउ उद्योग खोल्नको लागि साझेदारी गरे । पोखरामा घरेलु सिन्के चाउचाउ उत्पादन गरिरहेका व्यवसायी फणिन्द्रमान श्रेष्ठ, कृष्ण आचार्यले गण्डकी नूडल्समार्फत सिन्के चाउचाउ उत्पादन गरिरहे पनि व्यवसाय घाटामा थियो । 

 केसीले आफ्नो बुबाको व्यवसायलाई तेस्रो पुस्तासम्म हस्तान्तरण मात्र गरेनन्, यसलाई विविधिकरण गरेर नेपालको स्थापित व्यापारिक घरानासमेत बनाए । सूर्यबहादुरका पिता कीर्तिबहादुरले स्याङ्जा र पोखराको बाटोको निर्माणको जिम्मा लिएका थिए । पोखराको फेवातालको बाँध निर्माणदेखि लिएर सडक र भवनहरुको काम गरेका थिए । सूर्यबहादुर सँधै आफ्ना पिता किर्तिबहादुरबाट प्रभावित भएका थिए । बुबासँगै काम र व्यवसाय सिकेका सूर्यबहादुरले २०३० मा केसी कन्ष्स्ट्रक्सन स्थापना गरेर निर्माण व्यवसायलाई नयाँ गति दिएका थिए । 

केसीले सोहि समूहसँग साझेदारीमा वि.सं. २०२३ असारमा उत्पादन भयो रारा चाउचाउ । यो बेला केसीको राइसमिल पनि सञ्चालनमा  आएको थियो । गण्डकी नूडल्सबाट रारा चाउचाउ हिमश्री फुड्समार्फत उत्पादन हुन थाल्यो । चाउचाउ उत्पादनका लागि कम्पनीले नेपाल औद्योगिक विकास निगमबाट ३५ लाख रुपैयाँ ऋण लिएको थियो । १५ लाख रुपैयाँ केसीसहितको समुहले जुटाएको थियो ।

धेरै थोरै गरेर रारा चाउचाउमा ३० जनाको सेयर रहेको थियो । २०५८ सालसम्म आइपुग्दा उनीसँग रहेका अरु साझेदारहरु सबै बाहिरिए । ५० लाख रुपैयाँबाट सुरु भएको चाउचाउ उद्योगमा अहिले १ अर्ब रुपैयाँभन्दा बढि लगानी भैसकेको छ । 

रारा चाउचाउ स्थापित भैसकेपछि भारतको म्यागी चाउचाउले रारा चाउचाउ खरिदका लागि प्रस्ताव गरेको थियो । तर केसीले उद्योग बेच्न मानेनन् । त्यो बेला अरु साझेदारले बेच्न चाहिरहेका थिए । यहि विषयमा मतभिन्नता हुँदा त्यहि बेला केहि साझेदारले कम्पनी छाडिसकेका थिए । 

सूर्यबहादुरले भन्ने गर्थे विनोद चौधरीले पनि रारा चाउचाउ खरिद गर्न चाहेका थिए । उनले बिक्री नगरेपछि चौधरीले वाइ वाइ चाउचाउ नेपालमा भित्राए ।  केसीले चाउचाउ उद्योगलाई मात्र स्थापित गरेनन् । जलविद्युत्, निर्माण व्यवसाय, हाउजिङ्ग, बैंक, हस्पिटालिटी क्षेत्रलाई पनि स्थापित गराए ।

केसीले सन् २००५ मा हाइड्रोपावर क्षेत्रमा लगानी गरेका थिए । ४.८ मेगावाटको गण्डकी हाइड्रोपावरबाट सुरु गरेर १ मेगावाटको टास्क हाइड्रोपवार,१३ मेगावाटको सिकलेस हाइड्रोपावर, ४.५ मेगावाटको भगवती हाइड्रोपावरमा लगानी गरेका छन् । अप्पर मादी, अप्पर सेती, विजयपुर–२ जलविद्युत आयोजनामा समेत उनको लगानी छ । 

केसी ग्रुपअन्तर्गत हिमालयन गल्फ कोर्स, केसी हाउजिङ्ग, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ्ग कलेज, कालिका मल्टिप्रपोज कलेजमा लगानी छ । 

सूर्यबहादुरले पोखरालाई नै आधार मानेर राष्ट्रिय स्तरको बाणिज्य बैंक माछापुच्छे बैंकलाई स्थापना गरेका थिए । माछापुच्छे अहिले नेपालको बलियो बैंकमध्ये एक हो । केसी गु्रपको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेमा पनि लगानी रहेको छ । 

बैंक तथा वित्तीय संस्थाबाहेक केसी गु्रपअन्तर्गतका कम्पनी र उद्योगमा ९०० बढिले रोजगारी पाएका छन् । केसीले जसरी व्यापारलाई विविधिकरण गरे त्यसैगरि राजनीतिमा पनि उनको विविधिकरण भयो ।

पञ्चायतकालमा नै राजावादी भएर राजनीतिमा सक्रिय भएका केसी लामोसमय राप्रपामा बसेर राजनीति गरे । केसी तत्कालिन पोखरा नगरकाका प्रधानपन्च पनि भएका थिए । 

३ वर्षअघि मात्र नेपाली काँग्रेसमा प्रवेशका गरेका केसीले स्थानिय तहको निर्वाचनमा एमालेलाई सहयोग गरेका थिए । नेपाली काँग्रेस प्रवेश गर्नुअघि उनले राप्रपा पार्टी परित्याग गरि स्वतन्त्र रहेको घोषणा गरेका थिए । केसीले सनातन हिन्दु धर्मको वकालत गर्दै आइरहेका थिए । 

बैंक तथा वित्तीय संस्थाबाहेक केसी गु्रपअन्तर्गतका कम्पनी र उद्योगमा ९०० बढिले रोजगारी पाएका छन् । केसीले जसरी व्यापारलाई विविधिकरण गरे त्यसैगरि राजनीतिमा पनि उनको विविधिकरण भयो ।पञ्चायतकालमा नै राजावादी भएर राजनीतिमा सक्रिय भएका केसी लामोसमय राप्रपामा बसेर राजनीति गरे । केसी तत्कालिन पोखरा नगरकाका प्रधानपन्च पनि भएका थिए । 

नेपाली काँग्रेसका नेता तथा व्यवसायी विन्दुकुमार थापा केसीको पोखराको औद्योगिक विकासका लागि ठूलो योगदान रहेको बताउँछन् । ‘व्यापार, समाजसेवा, राजनीतिमा सक्रिय भएर यो क्षेत्रको उन्नतीका लागि हामीले सँधै सम्झनुपर्छ,’ उनले भने ।

सबै पार्टीका नेता, कार्यकर्ता र स्थानीयसँग मिलनसार भएकै कारण धेरैले उहाँलाई मन पराउने गरेका थिए, उनको निधनले यो क्षेत्र र काँग्रेसलाई ठूलो क्षति पुगेको थापाले बताए । 

रारा चाउचाउ उत्पादनका बेला केसीसँग व्यवसाायिक साझेदार रहेका पोखराका व्यवसायी सुशील गोशलीले केसी पोखराबाट स्थापित मुलुककै ठूलो व्यवसायी भएको बताए । गला अवरुद्ध पार्दै गोशलीले केसी आफ्नो सरोदर भाईजस्तै भएकाले अहिले उनको बारेमा धेरै बोल्न नसक्ने बताए । 

प्रतिष्ठित व्यवसायी तथा लक्ष्मी गु्रपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पोखरामा उद्योग व्यवसाय नभैरहेको समयमा सूर्यबहादुरले उद्योग र व्यवसाय स्थापित गरेर औद्योगिक क्षेत्रमा योगदान पुराएको बताए ।

‘उहाँले व्यापार, उद्योग, समाजसेवा, राजनीति सबै कुरामा राम्रो गरेर देखाउनुभयो, हामी पोखरेलीले असल व्यक्तित्व गुमायौं,’ उनले क्यापिटल नेपालसंग भने । ‘२०४२ मा उहाँ प्रधानपन्च हुँदा विन्दवासिनी मन्दिरको विकासका लागि धेरै योगदान गरेको पनि म सम्झन चाहन्छु’ श्रेष्ठले भने । 

 

प्रकटकुमार शिशिर

क्यापिटल नेपालका प्रबन्ध सम्पादक हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top