उखुको तीन थरी मूल्य प्रस्ताव

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २७, बिहीबार,०९:१५:AM  
उखुको तीन थरी मूल्य प्रस्ताव

काठमाडौं । चिनी उद्योगीले उखुको तीन थरी मूल्य तोक्न सरकारलाई आग्रह गरेका छन् ।

उद्योगीले उच्च गुणस्तरको उखुको मूल्य हाल कायम रहेको मूल्यभन्दा १० रुपैयाँ बढी, मध्यगुणस्तर भएको उखुको मूल्य हालकै मूल्य कायम गर्ने र कम गुणस्तरको उखुको मूल्य हाल कायम रहेका भन्दा १० रुपैयाँ कम मूल्य निर्धारण गर्न सरकारालाई भनेको हुन् । यद्यपि, उद्योगीको प्रस्तावलाई सरकारले मानिसकेको छैन । 

उद्योगीले उच्च गुणस्तरको उखुको मूल्य ५ सय ४६ रुपैयाँ तोक्न सरकारलाई आग्रह गरेका छन् । त्यसैगरी, मध्यम खालको उखुको मूल्य ५ सय ३६ रुपैयाँ र कम गुणस्तरको उखुको मूल्य ५ सय २६ रुपैयाँ तोक्न सरकारलाई प्रस्ताव गरेका हुन् । 

नेपालमा हालसम्म उखुको एउटै दर मात्रै कायम छ । तर, छिमेकी मुलुक भारत तथा अन्य देशमा उखुको गुणस्तरअनुसार मूल्य निर्धारण हुने चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए । 

उखुको गुणस्तर अनुसार मूल्य तोक्दा किसानलाई फाइदा हुने उनको भनाइ छ । उच्च गुणस्तरको उखु हुने बित्तिकै बढी पैसा पाइने भएपछि किसानले जहिले पनि उच्च गुणस्तरकै बीउ ल्याएर उखु लगाउने उनको भनाइ छ । 

अहिले कम गुणस्तरको उखुले पनि उही भाउ पाइरहेको छ भने बढी गुणस्तरयुक्त उखुले पनि समान मूल्य पाइरहेको छ । तर, सरकारले गुणस्तरअनुसार मूल्य निर्धारण गर्ने हो भने बढी गुणस्तरी उखु उत्पादन गर्ने किसानले बढी पैसा पाउने चिनी उद्योगीहरू बताउँछन् । 

त्यसले एकातिर किसानसमक्ष बढी पैसा पुग्यो भने अर्कोतिर त्यो उखुबाट बढी चिनी पनि उत्पादन हुन्छ । यसले उद्योगी र किसान दुवैलाई हित गर्ने अग्रवालको बुझाइ छ । सरकारले तीनथरी मूल्य तोक्नुको फाइदाको बारेमा किसानलाई बुझाए, उनीहरू पनि मान्न तयार हुने उद्योगीहरू बताउँछन् । 
 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top