काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना नेपाल बाहिर रहे पनि हाल कायम रहेको ब्रोकर कमिसन दर घटाउन विषयमा छलफल गर्न बोर्ड बैठक बसेको छ ।
अध्यक्ष ढुङ्गानाको अनुपस्थितिमै बोर्डको बैठक डाकिएको र हाल कायम रहेको कमिसनको दर नयाँ दरका बारेमा छलफल भएको बोर्डका एक सस्दयले जानकारी दिए ।
ती सदस्यका अनुसार कमिसनका विषयमा यसअघि नै तयार पारिएको डकुमेन्ट लगानीकर्ता संघले बुझाएको प्रतिवेदनमाथि छलफल गरिएको हो । ‘अहिले दुईवटा दरमाथि छलफल भइरहेको छ । तर, निर्णय भने अध्यक्षज्यू आएपछि नै हुन्छ,’ ती सदस्यले भने ।
यो पनि हेर्नुहोस
ब्रोकर कमिसन ०.२५ प्रतिशतमा झार्न बोर्डको गृहकार्य
बोर्डका सबै सदस्य छिटोभन्दा छिटो कमिसन घटाउनुपर्ने पक्षमा छन् । त्यही भएर अध्यक्षबिनै बोर्डको बैठक राखिएको हो । बोर्डमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, कानुन मन्त्रालयका निर्मला अधिकारी भट्टराई, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन अफ नेपालकाबाट युद्वराज ओली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र विज्ञ अशोककुमार पौडेलले कमिसन दरमाथि छलफल गरिसकेका छन् ।
‘अध्यक्षज्यू नेपाल भएको भए कमिसन घटिसक्थ्यो,’ बोर्डका एक सदस्यले भने, ‘उहाँ नभएर अहिलेसम्म रोकिएको हो । आउने बित्तिकै कमिसन घट्छ ।’
सेयर लगानीकर्ताहरुको संघले निरन्तर कमिसन घटाउन दबाब दिइरहेका छन् । उनीहरुको दबाब जायज पनि छ । तर, बाध्यताले गर्दा निर्णय गर्न नसकेको सदस्यको भनाइ छ ।
अहिले सेयर कारोबारले नयाँ नयाँ रेकर्ड राखिरहेको छ । ब्रोकर कम्पनीले बिना लगानी मोटो रकम कमिसनका रुपमा लिइरहेका छन् । राज्यले बनाएको संरचना प्रयोग गरेर मनग्य आम्दानी गर्दा समेत बोर्ड मौन बसेको लगानीकर्ताको आरोप छ ।
अहिले ९० प्रतिशत सेयर कारोबार अनलाइनमार्फत हुन्छ । यस्तो बेलामा अहिलेको कमिसन दर अत्यधिक भएको उनीहरुको भनाइ छ ।