काठमाडौं । राजनीतिक माहोल तातिरहेका बेला सोमबार सेयरको कारोबार भने सकारात्मक देखिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेसँगै पछारिएको सेयर बजार सूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) केही सम्हालिएको छ ।
यद्यपि, दिनभर सूचकमा ९० अंकको उतारचढाव आएको छ । आइतबार १९३५ अंकमा रोकिएको बजार सोमबार बिहानैदेखि घट्न थालेको थियो । करिब ६१ अंकले झरेर १८७४.०७ अंकमा झरेको बजार तीब्र गतिले बढेर १२ बज्दा नबज्दै १९६४.५५ अंकमा चढेको थियो । त्यसपछि पछि सूचकमा उतारचढाव भने कायमै रहे पनि माथिल्लो अंक १९७७.४३ अंकसम्म चढे पनि तल्लो अंक भने १८९८.८५ अंकमा रोकियो ।
यद्यपि, बजारले अन्तिम समयतिर फेरि बढ्ने बाटो समायो । सोमबार ३०.३३ अंकले बढेर १९६५.९६ अंकमा कारोबार रोकिएको छ । सोमबार कारोबार रकम पनि उल्लेख्य छ । ६ अर्ब ६९ करोड ८८ लाख रुपैयाँबराबरको सेयर कारबोर भएको बजारमा ३ वटा उपसमूहको समूह सूचक घटेको छ भने अरु ९ वटा सूचकहरु बढेका छन् । त्यसको प्रतिविम्ब नेप्से सूचकमा परेको हो ।
एकाएक आइतबार राजनीति सरगर्मीले बजार सूचक ९६ अंकले घटेको थियो । तर, राजनीतिक वातावरण जस्तोसुकै भए पनि कम्पनीका केही सूचकहरुमा भने खासै चिन्ता गर्नुपर्ने अवस्था छैन । त्यसैले दोस्रो दिन नै बजार आफ्नै लयमा फर्किएको हो ।
बजार तीब्र उतारचढाब भइरहेका बेला लगानीकर्ताहरुले भने सचेतताका साथ आफ्नो लगानीको निर्णय गर्नुपर्छ । लगानीकर्ताहरु आवेग र यर्थाथको विश्लेषण नगरी हौवाको भरमा बजार प्रवेश गर्दा जुनसुकै बेला फस्न सक्छन् । एतातर्फ लगानीकर्ताले चनाखो भएर ध्यान दिनुपर्छ ।
सेयर बजारमा सबैभन्दा बढी प्रभाव पार्ने अस्त्र भनेकै राजनीति हो । राजनीतिक घटनाक्रमले जहिले पनि सेयर बजार प्रभावित हुन्छ । त्यसैले अचानक आउने राजनीतिक घटनाक्रममा लगानीकर्ता अझ चनाखो बन्नुपर्छ । आइतबारको घटना पनि त्यही मध्येको एउटा थियो । जसमा कतिपय लगानीकर्ताले गुमाएको महशुस गर्नुपर्यो ।
राजनीतिक माहोललाई छाड्ने हो भने अहिले जसरी बजार बढ्नुमा कुनै कारण थिएन, त्यसैगरी घट्नुमा पनि कुनै कारण छैन । कम्पनीहरुका वित्तीय विवरण सकारात्मक नै छन् । विस्तारै व्यावसायिक वातावरण बन्द थालेको महशुस भइरहेको थियो । सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरणले आगामी वर्ष यो वर्षको भन्दा बढी लाभांश दिने कुरालाई नकारेको छैन ।