काठमाडौं । ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डलाई सकस परेको छ । ब्रोकरको कमिसन घटाउनका लागि मंगलबार साँझ बसेको बोर्ड बैठक निर्णयमा पुग्न सकेन् । कति घटाउने भन्ने विषयमा सञ्चालकबीच विवाद बढेपछि निर्णय हुन नसकेको हो ।
ब्रोकर कमिसन घटाउन छिट्ट्रै बोर्ड बैठक बस्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आइतबार ब्रोकर कमिसन घटाउन बोर्डलाई भनेका थिए । तर बोर्डले मंगलबार पनि निर्णय गर्न सकेन ।
बैठकमा छलफल भए पनि निर्णय नभएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । उनले यस विषयमा निर्णय अर्को बैठकले गर्ने संभावना रहेको जानकारी दिए ।
सेयर लगानीकर्ताहरुले ब्रोकर कमिसन बढी भएको भन्दै ०.२५ प्रतिशतमा झार्न माग गरेका छन् । सेयर लगानीकर्ताहरुले सेयर ब्रोकर कमिसन घटाउनका लागि बोर्डमा ज्ञापनपत्र नै बुझाएका छन् ।
बोर्डले कमिसन घटाउन गृहकार्यलाई अन्तिम चरणमा पुर्याएको जानकारी दिएको छ । हालको कमिसन दर अत्यधिक भएको लगानीकर्ताहरुबाट गुनासो आएपछि बोर्डले त्यसलाई घटाउन लागेको हो । नेपाल ब्रोकर एसोसियसनले ब्रोकर कमिसन नघटाउन बोर्डलाई दवाव दिंदै आएको छ ।
अहिले सेयर किन्ने र बेच्ने दुवैबाट कमिसन लिइरहेको छ । त्यसो हुँदा ०.६० प्रतिशत कमिसन किन्ने र बेच्ने दुवैबाट लिन्छन । दुवै तिरबाट लिँदा दोब्बर कमिसन ब्रोकरले लिइरहेका छन ।
पछिल्ला दिनमा कारोबार रकमले नयाँ उचाइ बनाउन थालेको र ९० प्रतिशत सेयर किनबेच अनलाइनबाट हुन थालेपछि हाल कायम रहेको ब्रोकर कमिसन दर घटाउन बोर्डमाथि चौतर्फी दबाब परेको छ ।
अहिले ५० हजारदेखि १ करोड रुपैयाँ भन्दा माथिसम्मका लागि कारोबारअनुसार ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन लाग्छ । ५० हजार रुपैयाँभन्दा कमको कारोबारमा प्रतिकारोबार २५ रुपैयाँ शुल्क ग्राहकले तिर्नुपर्छ ।
किन्ने र बेच्ने दुबैले यस्तो कमिसन तिर्नुपर्छ, अर्थात ९ अर्बको कारोबार हुँदा १८ अर्ब रुपैयाँ रकममा ग्राहकहरूले कमिसन तिर्नुपर्ने हुन्छ ।
यसबाहेक ग्राहकबाट धितोपत्र बोर्डले अलग्गै प्रतिकारोबार ०.०१५ प्रतिशत शुल्क पाउँछ ।
ब्रोकरले ग्राहकबाट उठाउने कमिसनमा धितोपत्र बोर्ड, नेप्से र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) सबैले हिस्सा पाउँछन । कमिसनबाट उठेको रकममा धितोपत्र बोर्डले ०.६ प्रतिशत, नेप्सेले २० प्रतिशत र सिडिएससीले १ प्रतिशत पाउँछन् । लगानीकर्ता संघहरुले ब्रोकर कमिसन घटाउन आन्दोलन सुरु गरिसकेको छन ।