काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञाले वित्तीय क्षेत्र पनि त्राहिमाम थियो । कर्मचारीहरूलाई काममा लगाउन पनि बैंकहरूलाई हम्मेहम्मे परेको थियो । तर, यहीबीच प्रभु बैंकले भने आफ्नो व्यवसायमा छलाङ मार्ने प्रयास गरिरहेको थियो ।
बैंकहरूले निक्षेप संकलन र कर्जा लगानी प्रक्रियालाई कसरी अघि बढाउने भनेर अन्योलको अवस्थामा रहेकै बेला प्रभुले भने व्यवसायलाई आक्रामक बनाइरहेको थियो । जसको परिणाम प्रभुले बजार औसतभन्दा दोब्बरले व्यवसाय विस्तार गरिरहेको छ । प्रभुको काम गराइलाई हेरेर सहरका ठूला घरानाहरू पनि जिब्रो टोक्न थालिसकेका छन् ।
निक्षेप र कर्जा परिचालन औसतभन्दा दोब्बर
प्रभु बैंकले लकडाउन सुरु भएपछि निक्षेपमा ४०.८४ प्रतिशतले वृद्धि गरेको छ । यस्तै कर्जा लगानीमा २३.६८ प्रतिशतको वृद्धि छ । यस अवधिमा प्रभुको निक्षेप र कर्जा लगानीमा भएको बढोत्तरी वाणिज्य बैंकहरूको औसत वृद्धिको तुलनामा दोब्बरभन्दा बढी हो । गत फागुनमा वाणिज्य बैंकहरूले समग्रमा ३१ खर्ब ४२ अर्ब ४६ लाख रुपैयाँ निक्षेप परिचालन गरेकोमा मंसिरमा आइपुग्दा १८.१ प्रतिशतले बढेर ३७ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा पनि गत फागुनमा २८ खर्ब १३ अर्ब ९८ करोड लगानी भएकोमा मंसिरसम्म आउँदा ११ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
२०७७ पुस १७ सम्म प्रभु बैंकको निक्षेप १ खर्ब ६७ अर्ब र कर्जा १ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । पुसको पहिलो दुई सातामा मात्रै २ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । हाल २७ वाणिज्य बैंक सञ्चालनमा छन् । निक्षेप परिचालनका हिसावले प्रभु बैंक पाँचौं स्थानमा छ । कर्जा लगानी, शाखा विस्तार, जगेडा कोष (रिजर्भ), सेयरधनीलाई दिने प्रतिफल बढ्दो छ ।
पछिल्लो समय प्रभुले व्यवसाय विस्तारका लागि साना तथा मझौला उद्यमी, टेम्पो व्यवसायीदेखि ठूला घरानाहरूलाई लक्षित कर्जा प्रवाह गरिरहेको छ । विभिन्न स्किम, छिटो निर्णय गर्ने प्रक्रिया र सहज पहुँच तथा सुविधाले ठूला कर्पाेरेट घरानाहरू पनि प्रभुप्रति आकर्षित भएका छन् ।
मर्जपछिका ती कठिन दिन
२०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एकीकरण गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो । सोही वर्ष कात्तिकमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार लम्सालले प्रभु छाडेपछि कार्यवाहक सीईओको जिम्मेवारी अशोक शेरचनले पाएका थिए । त्यही वर्ष माघ २९ मा प्रभुले ग्रान्ड बैंक नेपाललाई गाभेको थियो । त्यति मात्रै होइन प्रभुले खारेजीमा गएको नेपाल विकास बैंकलाई समेत आफूमा समाहित गरेको थियो । ग्रान्डको विलयसँगै प्रभुको सीईओमा शेरचन नियुक्त भए । त्यसयता लगातार ६ वर्षदेखि सीईओका रूपमा शेरचनले काम गरिरहेका छन् ।
शेरचनले सीईओको जिम्मेवारी लिँदा वित्तीय क्षेत्र तरंगित अवस्थामा थियो । त्यतिबेला डेढ दर्जन वित्तीय संस्थाहरू समस्याग्रस्त भइसकेका थिए । त्यसमाथि समस्यामा परेको किष्ट र ग्रान्ड बैंकलाई प्रभुले लिएको थियो । यस्तो बेला अनुभवी सीईओ चाहिनेमा बैंकले अनुभवै नभएका व्यक्तिलाई सीईओको जिम्मेवारी दिएकाले प्रभु बैंक झनै बिग्रिने आँकलनहरू गरिएको थियो । त्यतिबेला वित्तीय क्षेत्र र अन्यत्र पनि सीईओ शेरचनलाई ‘हास्य पात्र’का रूपमा प्रस्तुत गरिन्थ्यो ।
तर, परिस्थितिले कोल्टे फेर्यो । शेरचनजस्ता बैंकमा सीईओ छन्, बैंकहरू कसरी अघि बढ्लान भनेर प्रश्न गर्नेहरू विस्तारै वित्तीय क्षेत्रबाटै पलायन हुँदै गएका छन् । प्रभुले भने एकपछि अर्को चरणमा आफू अब्बल रहेको प्रमाणित गर्दै रह्यो । त्यसैको परिणाम अहिले बैंकहरूमा प्रभुको नाम गर्वसाथ लिन थालिएको छ । बैंकको विस्तार तथा संस्थागत सुशासन कायम गरेर अघि बढिरहेको सन्दर्भलाई हेर्ने हो भने आगामी केही वर्षमा प्रभुको चमत्कारिक परिवर्तन सतहमा देखिनेछ ।

तीन वर्षदेखि लाभांश
प्रभुले कठिन परिस्थितिलाई पार लगाएर अघि बढेसँगै तीन वर्षदेखि लगातार लाभांश दिन सकेको छ । आर्थिक वर्ष २०७४/०७५ मा ८ प्रतिशत बोनस सेयर दिएको बैंकले २०७५/०७६ मा लाभांश दरलाई दोब्बर बनाउँदै १६ प्रतिशत पुर्याएको छ । कोभिड–१९ कारण व्यावसायिक वातावरण खल्बलिए पनि गत वर्षको नाफाबाट प्रभुले दोहोरो अंकमा लाभांश दिने घोषणा गरेको छ ।
पुस २६ गतेको साधारणसभाले पारित गर्ने गरी बैंकको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । बैंकले यसबीचमा चुक्तापुँजी बढाउन एक पटक २० प्रतिशत र अर्कोपटक ४० प्रतिशत हकप्रद सेयरसमेत दिएको थियो । सञ्चालक समिति र व्यवस्थापनबीच समन्वय भए र संस्थागत सुशासन कायम गर्न सके वित्तीय सूचकहरूलाई मजबुत बनाउँदै प्रतिस्पर्धामा खरो रूपमा उत्रिन सकिन्छ भन्ने कुरा प्रभुबाट देखिन्छ ।
प्रभु बैंक बनेपछि लाभांश पाउन ढिला भए पनि प्रभु बैंक बन्नुअघिका र प्रभु बैंक बनेपछि पनि ग्रान्ड बैंक गाभिनुअघि लगानीकर्ताले लाभांश हिस्सा पाएका थिए । प्रभु विकास बैंकले किष्ट बैंकलगायतलाई समहित गर्दा पनि थप मूल्य पाएको छ । त्यतिबेला किष्टको सेयर मूल्य प्रतिकित्ता ९७.३१ रुपैयाँ हुँदा प्रभु विकास बैंक र गौरीशंकर डेभलपमेन्ट बैंकको सेयर मूल्य १०७.३१ रुपैयाँ कायम गरिएको थियो । त्यसैगरी जेनिथ फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ९२.३१ रुपैयाँ कायम गरिएको थियो ।
यसरी हेर्दा प्रभुका सेयरधनीले सो वर्ष कुनै लाभांश नपाए पनि ७.३१ प्रतिशत बोनस सेयर पाएको भन्न सकिन्छ । प्रभु बैंकसँग पछि ग्रान्ड बैंकलाई गाभ्दा पनि प्रभुका लगानीकर्ताले थप मूल्य पाएका थिए । ग्रान्ड बैंकको प्रतिकित्ता मूल्य ६५.५८ रुपैयाँ हुँदा प्रभुका लगानीकर्ताले प्रतिकित्ता १२१.४५ रुपैयाँ पाएका थिए । अर्थात् १ सय कित्ता प्रभुको सेयर हुनेले ग्रान्ड गाभिदा स्वतः २१ कित्ता सेयर पाएका थिए । त्यसलाई २१ प्रतिशत बोनस सेयरका रूपमा पनि व्याख्या गर्न सकिन्छ ।
प्रभु फाइनासबाट उदाएको बैंक
प्रभु बैंक फाइनान्सबाट स्तरोन्नति हुँदै र नयाँ संस्थाहरूलाई आफूमा बिलय गराउँदै अघि बढेको हो । फाइनान्स कम्पनीबाटै अध्यक्ष देवीप्रकाश भट्टचन र सीईओमा शेरचनले भूमिका निभाउँदै आएका छन् । फाइनान्स रहँदै अब्बल मानिएको प्रभुले समृद्धि विकास बैंक र वैभव फाइनान्सलाई आफूमा गाभेपछि प्रभु विकास बैंकका रूपमा कारोबार सुरु गरेको थियो । त्यसको केही समयमै प्रभुले किष्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्सलाई गाभेर वाणिज्य बैंक बनेको हो ।
सुरुवाती चरणमा खराब संस्था बोकेर पछि परेको प्रभु पछिल्लो समय तीव्र गतिमा अघि बढिरहँदा आफ्नो सफलताको पछि सञ्चालक समिति र व्यवस्थापनबीचको सझबुुझपूर्ण निर्णय र मर्जरको सिनर्जी असरलाई मान्ने गरेको छ । वित्तीय क्षेत्रमा सञ्चालक समिति र सीईओबीच मनमुटाव बढेर केन्द्रीय बैंकले हस्तक्षेप गर्ने तहमा पुुगेको भए पनि प्रभुमा भने यो समस्या छैन । बोर्ड र व्यवस्थापनको उच्च समन्वयका कारण ठूला कर्पोरेट हाउस पनि अहिले प्रभु बैंकप्रति आकर्षित भएका छन् ।
बैकका अध्यक्ष देविप्रकाश भट्टचन र उनको बोर्डको टिमले सीईओ र व्यवस्थापनलाई हस्तक्षेप नगरी काम गर्न दिएका कारण बैंकले अहिले यो उचाइ हासिल गर्न संभव भएको हो । मर्जरबाट प्राप्त सिनर्जी अवसरलाई उपभोग गरेको बैंकले अहिले थप मर्जर गर्न उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजी गरिरहेको छ । उसले मर्जरका लागि थप प्रक्रिया अघि बढाउन पुस २६ गतेको सातौं साधारणसभामा गाभ्ने/गाभिने, प्राप्ति गर्ने प्रस्ताव लैजाँदैछ ।
चालूू वर्षको आँकलन प्रथम त्रैमासमा प्रभुको नाफा
गत असारमा बैंकको चुुक्तापुँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ छ । गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर प्रस्ताव गरिएको छ । कोभिडकाबीच पनि चालू आर्थिक वर्षमा बैंकका वित्तीय परिसूचकहरू थप मजबुत देखिएका छन् । दुई बैंकहरुलाई समाहित गरेपछि खराब कर्जा बढेर ३६ प्रतिशतसम्म पुगेको थियो । खराब कर्जालाई घटाउन बैंक सफल भएको छ । गत असारमा कुल कर्जामा खराब कर्जाको हिस्सा ३.१५ प्रतिशत रहेकोमा असोजमा आइपुुग्दा घटेर २.६७ प्रतिशतमा झरेको छ ।
त्यस्तै कोषको लागत असारमा ६.०६ प्रतिशत रहेकोमा असोजमा ४.८९ मा झरेको छ । यसले बैंकका ऋणीहरूमा कम लागतमै कर्जा उपलब्ध बनाउने वातावरण बनेको छ । असोजमा बैंकका कर्जा र निक्षेपको ब्याजबीचको अन्तर ४.३७ प्रतिशत छ भने आधारदर पनि ७.३९ प्रतिशतमा खुम्चिएको छ । यसले आगामी दिनमा बैंक अझ प्रतिस्पर्धी रूपमा बजारमा आइरहेको संकेत गर्छ ।
बैंकका हाल सातै प्रदेशमा २१२ शाखा र ५५ एक्सटेन्सन काउन्टर सञ्चालित छन् भने २ हजार ३६३ जना कर्मचारी कार्यरत छन् । बैंकले वित्तीय कारोबारलाई बढवा दिन भारत, चीन, अमेरिका, युुरोप, अस्ट्रेलिया, दुुबई, कोरिया र जापानमा रहेका बैंकमा सम्बन्ध स्थापित गरेको छ । प्रभुले एसियाली विकास बैंकबाट १० लाख अमेरिकी डलरको ‘नन् फन्डेड क्रेडिट लाइन ग्यारेन्टी’ पनि प्राप्त गरेको छ । यसले बैंकको वैदेशिक व्यापारमा ठूलो टेवा दिनेछ ।
चालूू वर्षको पहिलो त्रैमासमा प्रभुको खुद नाफा पनि ह्वात्तै बढेको छ । मंसिरसम्मको वित्तीय स्थिति केलाउँदा नाफाका हिसावले छैटौं सूचीमा छ । गत वर्ष मंसिरसम्म १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेको प्रभुले चालू वर्षको मंसिरसम्म १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा करिब १८ प्रतिशतले बढी हो ।
कोरोना कहरकैबीच र व्यवसायहरू खासै विस्तार नभएका बेला बैंकको खुद नाफामा आएको वृद्धिले उत्साहित भएको प्रभु व्यवस्थापन चालूू वर्षको अर्धवार्षिक प्रतिवेदनमा अझ बढी नाफा समेटिनेमा विश्वस्त छ । यही रफ्तारमा बैंकको नाफा वृद्धि भएमा चालू वर्ष साढे ३ अर्ब रुपैयाँ भन्दा बढी नाफा हुनेछ ।
नाफामा वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत असारमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५८ पैसा रहेकोमा असोजमा तीन गुणा बढेर प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा पुगेको छ । प्रतिसेयर किताबी मूल्य (नेटवर्थ) १५५ रुपैयाँ कायम छ । बैंकको जगेडा कोषमा पनि ४ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको छ ।