×

बिजुलीको महसुल अनलाइनमार्फत तिर्दा ५ रुपैयाँ ‘सर्भिस चार्ज’

images

काठमाडौं । बिजुलीको महसुल ५ सय रुपैयाँभन्दा बढी उठ्ने ग्राहकले अनलाइनमार्फत भुक्तानी गर्दा सर्भिस चार्ज ५ रुपैयाँ लाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले ५ सय रुपैयाँभन्दा बढी बिजुलीको महसुल अनलाइनमार्फत भुक्तानी गर्दा ५ रुपैयाँ सर्भिस चार्ज लाग्ने निर्णय गरेको हो । 

तर, ५ सय रुपैयाँसम्म बिजुलीको महसुल हुने ग्राहकले अनलाइनमार्फत भुक्तानी गर्दा भने शुल्क लाग्दैन ।  ग्राहकले आफ्नो मोबाइल बैंकिङमार्फत वा अनलाइन सेवामार्फत बिजुलीको महसुल भुक्तानी गर्दा सर्भिस चार्जबापत ५ रुपैयाँ लाग्ने गरिएको निर्णय भएको हो ।

अनलाइनमार्फत बिजुलीको भुक्तानी गर्ने ग्राहकलाई दृष्टिगत गरी ५ सय रूपैयाँभन्दा महसुल हुने ग्राहकले सर्भिस चार्जबापत थप ५ रुपैयाँ चार्ज लाग्ने गरी निर्णय भएको प्राधिकरणको सञ्चालक समितिका एक सदस्यले क्यापिटल नेपाललाई जानकारी दिए ।

‘जसले बिजुलीको महसुल अनलाइनमार्फत भुक्तानी गर्ने हो उसले ५ सय रुपैयाँभन्दा बढीको महसुल तिर्दा थप ५ रुपैयाँ सर्भिस चार्ज लिने निर्णय भएको छ’ ती सदस्यले भने, ‘सबै मानिसहरुले अनलाइनमार्फत भुक्तानी गर्न खोज्ने भएको र अहिले हरेक ग्राहकहरुको घरमा स्मार्ट मिटर जोडिएकाले  पनि थप सर्भिस चार्ज लाग्ने गरी बोर्डले निर्णय गरेको हो ।’

अब ५ सय रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म बिजुलीको महसुल उठ्ने ग्राहकले भुक्तानी अनलाइनमार्फत गर्दा अतिरिक्त ५ रुपैयाँ शुल्क तिर्नुपर्ने छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकले दिएको गाइडलाइनमार्फत सर्भिस शुल्क लिने निर्णय भएको उनले बताए । उनका अनुसार, अहिले ५ सय रुपैयाँभन्दा बढी महसुल तिर्ने ग्राहक २० लाखभन्दा बढी छन् ।  छिट्टै नै सर्भिस शुल्क लाग्ने निर्णय लागू हुने उनले बताए ।

विगत डेढ वर्षदेखि मोबाइल बैंकिङमार्फत फोन पे, आइएमई पे, प्रभु पे, इ–सेवा लगायतका अनलाईन बैंकिङ संस्थाहरुले निशुल्क सेवा पुर्याउँदै आएका थिए ।

मङ्गलबार १३ माघ २०७७ ०१:२२ PM मा प्रकाशित

प्रतिक्रिया