काठमाडौं । गत साताको सुरुका दुई दिन उच्च रकमको कारोबार र उच्च अंकमा पुगेर पछिल्ला दिनमा सुस्ताएको बजारले सोमबार छलाङ मारेको छ । गतसाता बजेटको मध्यावधि समीक्षासँगै लगानीकर्ताहरु मौद्रिक नीतिको समीक्षा पर्खाइमा थिए ।
आइतबार साँझ मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गर्दै गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै सूचक सकारात्मक भएको भन्दै मौद्रिक नीतिमा कुनै नीतिगत परिवर्तन नगरेपछि सोमबार बजार जुरुक्कै उठेको हो ।
मौद्रिक नीति समीक्षा अघि सेयर धितो कर्जा बढेको, लघुवित्त संस्थाहरुको सेयर मूल्य आकासिएको भन्दै लघुवित्तमा कडाइ गर्ने र सेयर धितो कर्जाको सीमामा पनि हेरफेर हुन सक्ने आशंका गरिएको थियो । सञ्चार माध्यम र सामाजिक सञ्जालमा यस किसिमका आशयहरु प्रस्फुटित भएपछि बजार केही सुस्ताएको थियो ।
आइतबार मौद्रिक नीतिले कडाई गर्नुको साटो १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत् कम्पनीलाई विशेष सुविधा दिने र आगामी असार मसान्तसम्म कोभिड १९ प्रभावित ऋणीहरुको घरजग्गा धितो लिलामी गर्न नपाउने व्यवस्था गरेपछि बजारले उचाईको लय समातेको हो ।
सोमबारको कारोबार प्याट्रनले पनि बजार मंगलबार अझै उचाई लिने र २६०० अंक भन्दा माथि पुगेर फर्किन सक्ने संकेत गरेको छ । साेमबार सेयर कारोबार सुरु हुने वित्तिकै नेप्से सूचक २५६७ अंकमा चढेको थियो । तर, त्यो उचाइ टिक्न सकेन । आघा घण्टा नपुग्दै सूचक २५३८ सम्म झर्यो । त्यसपछि भने सूचक ओरालो बाटो हेर्दैै हेरेन । विस्तारै बढेको बजारले नयाँ उचाइ २५८४.७५ अंक छोयो ।
त्यसपछि सामान्य घट्न खोजेको अनुभूत गराउँछ । यद्यपि, बजार बन्द हुँदा ९२.४२ (३.७१) प्रतिशतले बढेर २५८६ अंकमा आइपुगेको छ । बजार वृद्धिको लय समातेको यो पटक हालसम्ममै दोस्रो उच्च बिन्दू । यसअघि ९५ अंकले बजार बढेको थियो । गत पुस ७ गते ९५ अंकले बजार बढेको थियो ।
सोमबार कारोबार रकम पनि ह्वात्तै बढेको छ । आइतबार ६ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार भने १० अर्ब ३८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो तेस्रो उच्च कारोबार रकम हो । गत साता आइतबार र सोमबार उच्च रकमको कारोबार भएको थियो । गत सोमबार १० अर्ब ६१ करोड कारोबार भएको थियो ।
यसदिन सबै समूह (१२ वटा) सूचक बढे पनि जीवन बिमा, निर्जीवन बिमा र लघुवित्तमा भने उछाल आयो । बजार पुँजीकरणका हिसावले सबैभन्दा बढी हिस्सा (३०.८) ओगटेको वाणिज्य बैंक समूहको भने ५७ अंक बढेको छ भने १२.२ प्रतिशत बजार हिस्सा रहेको जीवन बिमा समूहको सूचक करिब ७०० अंकले बढेको छ । त्यस्तै ११.९ प्रतिशत बजार हिस्सा रहेको निर्जीवन बिमा कम्पनीको सूचक पनि ४५० अंकले बढेको छ । लघुवित्तको पनि बजार हिस्सा ९.३ प्रतिशत छ र यसको सूचक ३७० अंकले बढेको छ ।
सोमबारको कारोबारमा उत्पादनमूलक तथा प्रशोधन समूहको पनि सूचक १६० अंकले बढेको छ । यसको बजार हिस्सा ५.३ प्रतिशत छ । सोमबार ११ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले नै बढेको छ । यी सबै लघुवित्त हुन् । त्यसैगरी, २५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । त्यसमध्ये २१ कम्पनी लघुवित्त नै हुन् ।
बाँकी ४ कम्पनी मध्ये एउटा आइतबार मात्रै सूचीकृत भएको र १० प्रतिशत मूल्यवृद्धि पाएको नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैक हो । त्यसैगरी, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन उर्जा विकास कम्पनी र रिडि हाइड्रोपावर कम्पनी हुन् । सोमबार मात्रै ६ कम्पनीको सेयर मूल्य सामान्य गिरावट आएको छ ।