बिहीबार, साउन १४ २०७८ ०२:०० PM

×

गल्छीबाट शिखर चुमेका निर्मल : ब्रिटिसको जागिर त्यागें,हिमाल चढ्न घर बेचेँ

images

हिमाल चढ्न हिमालजस्तै अग्लो साहस चाहिन्छ । अझ धेरै हिमाल चढ्न त ठूलो आत्मविश्वास चाहिन्छ । हिमाललाई आफ्नो गन्तव्य बनाइरहन सामान्य दैनिकीले पनि हुँदैन । हरेक क्षण हिमाल सोच्नुपर्छ ।

हरेक पल हिमाल सोच्ने र हिमालका टाकुरामा आफ्ना पाइला पुर्याइराख्ने आरोही हुन्, निर्मल पूर्जा ।
सफलता हात पर्ने भनेको एकै पटक हुँदैन ।

तर, आफ्नो इच्छा र चाहनालाई पूरा गर्न धैर्यता भने अवश्य चाहिन्छ । त्यही इच्छा चाहनालाई पूरा गर्न ब्रिटिस आर्मीकै जागिर छोडेर हिमाल आरोहण गरी विश्व कीर्तिमान राख्ने नेपाली पूर्जाले पछिल्लो पटक जाडोयाममा पाकिस्तानको केटु हिमाल आरोहण गरेपछि विश्वभर चर्चा भयो । पूर्जासँगै अन्य १० जनाले केटु हिमाल आरोहण गरेपछि अन्तर्राष्ट्रिय सञ्चार जगतदेखि हिमालमा रुचि राख्नेहरूले तारिफ र बधाई दिइरहे ।

पश्चिमतिर मंगोलियन युवाहरूको सपना हुन्छ भविष्यमा ब्रिटिस लाहुरे बन्ने । उनी १८ वर्षमै लाहुरे बने । तर, निर्मल भने जागिरे जीवन सकिन ६ वर्षमात्र बाँकी हुँदा बीचमै छोडेर हिमाल आरोहणमा लागे ।

विश्वकै गहिरो गल्छी कालीगण्डकी नजिकै रहेको म्याग्दीको दानामा जन्मिएका पूर्जाको बाल्यकालको चाहना भने ब्रिटिस आर्मी बन्ने नै थियो । त्यो सपना पूरा गर्न उनले धेरै दुःख र कष्टसमेत भोगे । बाल्यकालमा उनले चप्पल नलगाई खाली खुट्टा बिताएका पूर्जालाई भविष्यमा हिमाल आरोहण गर्छु भन्ने चाहना नभए पनि नयाँ केही गर्नुपर्छ भन्ने सोच भने थियो ।

सन् २००३ मा ब्रिटिस आर्मीमा भर्ती भएका पुर्जा २००९ मा ब्रिटिस आर्मीको स्पेसल बोट सर्भिसमा प्रवेश गरे । त्यो समूहमा पर्ने निर्मल एक्ला नेपाली हुन् । ब्रिटिस आर्मीमै रहँदा उनले २०१२ डिसेम्बरमा सगरमाथाको आधार शिविरसम्म घुम्न आए । उनलाई त्यो अनुभव आश्चर्यजनक लाग्यो र हिमाल आरोहण गर्ने इच्छा जाग्यो । उनले सर्वप्रथम ६११९ मिटरको लोबुचे आरोहण गरे ।

२०१९ सम्म ब्रिटिस फोर्समै रहेका निर्मललाई नयाँ काम गर्ने इच्छा जाग्यो । उनले ६ महिनामा विश्वका ८ हजार मिटरमाथिका १४ शिखर चढ्ने भन्दै काम छाडेँ । ‘मलाई त सबैले पागल भएछ पनि भने, मैले पैसा नभएपछि घर बेचेर चढ्न गएको हुँ, आफ्ना लागि त्यस्तो निर्णय लिन सक्दिनथेँ, देशका लागि भनेर म गएँ, र चढेँ पनि,’ निर्मलले भने ।

सन् २०१६ मा उनले जागिर छोडे । पेन्सन पाक्न ६ वर्षमात्र बाँकी रहँदा उनी त्यहाँबाट बिदा भएर हिमाल आरोहणको अभियानमा लागे । १६ वर्षको जागिरे जीवनलाई छोडेर उनी हिमाल आरोहणमा लाग्दा परिवारको साथ भने पाएका थिएनन् । जागिरको सिलसिलामा लडाइँ हुँदा गोलीसमेत खाएर बाँचेका पूर्जाले पेन्सन पाक्ने बेलामा छोडी दिए । त्यहाँ अरुको भन्दा तलब र सेवा सुविधा उनको राम्रो थियो भने पेन्सन पनि धेरै आउँथ्यो, तर उनले त्यसलाई वास्ता नगरी आफ्नो नाम र देशको इज्जतका लागि भन्दै उनी आफ्नो अभियानलाई अगाडि बढाउनतर्फ लागे ।

आर्मीको आकर्षक जागिर छोडेर उनी हिमाल आरोहणमा लागे । किनभने उनलाई सम्पत्तिभन्दा पनि नाम र इज्जतलाई अगाडि बढाउन कसरी सकिन्छ भन्ने चिन्ता मात्र थियो । विश्वभर नेपालीहरूको नाम हिमाल आरोहणमा रहे पनि उनीहरूले हामीलाई विशेष गरेर भारी बोक्ने मात्र भनेर चिन्ने गरेकाले त्यसको ठाउँमा नयाँ परिचय दिने हुटहुटी उनमा थियो ।त्यही हुटहुटीले उनले आफ्ना परिवारको सबै इच्छा र आकच्छालाई त्यागेर अभियानमा लागे ।

केटुको यात्रा
सन् १९८३ मा पहिलोपटक ‘विन्टर एसेन्ट’को प्रयास भएको थियो । एन्डरेज जवाडा र क्यानडेली नागरिक ज्याक्स ओलेकको टोलीले हिउँदमा केटु आरोहण गर्न खोजे पनि सकेको थिएन ।

केटु हिमाल आरोहणका लागि उनीसँगै नेपालका १० जना हिमाल आरोहीको समूह थियो । विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटुमा नेपालीहरूले झन्डामात्र फहराएनन्, विश्वमा नेपालीको अर्काे चिनारी फहराए । निर्मल पूर्जा नेतृत्वको आरोही दलले चिसो मौसममा केटु हिमाल चढ्ने पहिलो टोलीको रुपमा कीर्तिमान लेखाए ।

विश्वका १४ अग्ला शिखरमध्ये ८ वटा शिखर नेपालमा छन् । नेपाललाई ‘होम अफ एट थाउजेन्डर्स’ भने पनि विदेशी आरोहीले नेपालीलाई उति सम्मान दिँदैनथे । १४ शिखर ६ महिनामा चढेर विश्व कीर्तिमान बनाएका निर्मललाई यो कुराले बिझाइरहन्थ्यो । तब त उनले हिमाल आरोहणमा देशकै नाम राख्न योजना बनाए । त्यो थियो हिउँदमा केटु आरोहण ।

निर्मल नेतृत्वको १० सदस्यीय टिमले गत ३ माघमा माउन्ट केटु चढ्यो । निर्मलले ६ हप्ता लगाएर हिमाल चढ्ने पर्मिट लिए । उनको टोलीमा अन्य ६ जनाका लागि पनि उनी आफैंले खर्च गर्ने योजना बनाए । उनको आरोहण टोलीमा मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेमचिरी शेर्पा, दाबातेम्बा शेर्पा थिए । निर्मल आफैंले उनीहरूको खर्च व्यहोर्ने गरेर हिमाल आरोहणमा निस्किए ।

सेकेन्ड क्याम्पमा हिउँपहिरोमा पर्दा

केटुलाई किलर माउन्टेन भनिन्छ । गर्मी मौसममा मात्रै केटु आरोहणमा हरेक ४ मध्ये १ जनाको मृत्यु हुने गरेको छ । हिउँदमा त अझै बढी । माइनस ६५ डिग्री तापक्रममा आफूभन्दा गह्रुँगो भारी बोकेर हिमाल चढ्नु कति सहज होला ?  

निर्मलको टोली त्यति बेला केटुका लागि निस्कियो जति बेला अर्का कीर्तिमानी आरोही मिङमाजी शेर्पा ३ जना भएर आरोहणमा निस्केका थिए । दाबा तेन्जिङ शेर्पा र किलुपेम्बा शेर्पालाई लिएर मिङमा पनि केटुमै थिए ।

सुरुमा उनीहरूले एकअर्कालाई ‘कम्पिटिटर’ माने । जब उनीहरू चढ्दै थिए, सेकेन्ड क्याम्पमा पुग्दा हिउँपहिरो गयो । उनीहरू ९ जनाकै सामान उडाएर तल पुर्याइदियो । उनीहरू फेरि एकपटक केही तल झरेर आफ्नो सामान बोकेर हिँड्नुपर्ने भयो ।

चढ्दै जाँदा शिखर नजिकिँदो थियो । उनीहरूको पहिला पुग्ने भन्नेमा स्वार्थी बन्न चाहेनन् । १० मिटर वरै रोकिए । अनि अँगालो हालेर राष्ट्रिय गान गाउँदै उनीहरू शिखर पुगे र राखे देशको नाम । ‘सबैले बराबर भारी बोकेका छौं । सबैले बराबर जोखिम बोकेका छौं, सबैको परिवार छ । त्यसपछि सबै सँगै चढौं भन्ने भयो ।

निर्मलको टोली केबल देशको नाम राख्न केटु शिखर पुग्न चाहन्थ्यो । मिङमाजीको टोलीको उद्देश्य पनि उही थियो । किनभने केटुबाहेक १३ वटा शिखरमा हिउँद आरोहणको कीर्तिमान विदेशीको नाममा छ । उक्त घटना पछि उनीहरूलाई मिल्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उनीहरू मिलेर शिखरसम्मको यात्रा गरे ।

घर बेचेर हिमाल चढे

अहिले विश्व रेकर्ड राख्दा सबैले वाह वाह गरेका छन् । तर, सुरुमा हिमाल आरोहण गर्दा पैसा नभएर जीवनभर कमाएको पैसा र बनाएको घरसमेत बेचेको पीडा भने अझै भुलेका छैनन् पूर्जा । सुरु–सुरुमा कसैले प्रायोजन गरिदिन नमान्ने र नपत्याउने भएकाले आफ्नै खर्चमा हिमाल आरोहण गरेका थिए । उनले त्यो बेला म्याग्दी र चितवनमा घर बनाएका थिए । पूर्जाले हिमाल चढ्न दुवै घर बेचिदिए ।  

आमा र बुबालाई सँगै राख्न नपाएको त्यो क्षण

आमा लामो समयदेखि बिरामी भएको कारणले धेरै समय अस्पताल गइरहनु पर्ने बाध्यता थियो । चितवन र काठमाडौंमा आमा बुबाले कोठा लिएर बस्नु भएको थियो । निर्मललाई भने काठमाडौंमा आमालाई उपचार गर्न पनि सहज हुने र उहाँहरू दुवैलाई एकै ठाउँ राख्ने सपना ठूलो थियो । त्यही भएर उनले काठमाडौंमा एक वर्षअघि घर किने ।

विडम्बना, घर सर्ने अघिल्लो दिन उनको आमाको निधन भयो । उनले आमा र बुबालाई घरमा सँगै राख्ने सपना पूरा गर्न पाएनन् । तैपनि उनले हार भने खाएका छैनन् । उनले जोखिम मोलेर हिमाल आरोहणतर्फ नलागेको भए काठमाडौंमा घर बनाएर आमा र बुबालाई सँगै राख्ने सपना पूरा गर्न केही समय पनि लाग्दैन थियो ।

तर, उनी आफ्नो सपना पूरा गर्नेभन्दा देशको नाम उँचो बनाउनतर्फ लागेर आफ्नो परिवारको खुसीलाई समेत त्यागेर लागे । जसको कारण उनले अहिले विश्व रेकर्ड राखे । उनी भन्छन्, कहाँ सबै कुरा भनेर चाहेको जस्तो पूरा हुन्छ र ?

जागिर छोडेर हिमाल चढ्न जाँदा ६ महिना दाइ बोल्नुभएन

त्यति राम्रो जागिर छोडेर हिमाल आरोहण गर्न जाने निर्णय गरेपछि उनका दुई जना दाजु ६ महिनासम्म बोलेनन् । जसले सानोमा दुःख गरेर पढाए, त्यही दाइ रिसाउँदा उनको मनमा पीडा भने नभएको होइन, तर आफूले देखेको सपनालाई पूरा गर्न अघि बढिरहे । बुबाआमा पनि दुखी भएका थिए ।

उहाँहरू दुवै बिरामी भएकाले अबपछि कसले हेर्ला भन्ने चिन्ता थियो । किनभने निर्मलले नै आमा र बुबाको उपचारका लागि महिनैपिच्छे पैसा पठाउने गरेका थिए । त्यो बेला आमा बुबाले हामीलाई उपचार गर्ला र बचाउलाभन्दा आफैं मर्न हिँडेको छ भनेर समेत रिसाएका थिए । तर, जुन बेला उनी ८ वटा हिमाल आरोहण गरेर सफल भए, त्यो बेला आमा, बुबा निकै हर्षित भए ।

‘स्वागतमा काठमाडौंमा गरिएको कार्यक्रम चितवनबाट आमालाई हेलिकप्टरमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुन दृश्य देखाए, तब आमा खुसी हुनुभयो,’ उनले भने । आमालाई घरमा राख्न नपाए पनि मेरो खुसीमा सहभागिता जनाउन पाउनु नै गर्वको विषय भएको उनी बताउँछन् ।

 

सोमबार १७ फागुन २०७७ ०७:५६ AM मा प्रकाशित

प्रतिक्रिया