काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएपछि नयाँ लगानीकर्ता कारोबारमा सक्रिय भएको र कारोबारले पनि नयाँ रेकर्ड बनाइसकेको छ । बोर्डले नयाँ ब्रोकर कमिसन सार्वजनिक गर्नु अघिसम्म कारोबार ४ देखि साढे ४ अर्बको बीचमा मात्रै थियो ।
तर, बोर्डले पुस १२ गतेदेखि नयाँ ब्रोकर कमिसन निर्धारण गरेपछि कारोबारले नयाँ रेकर्ड बनाएको अवस्था छ । सरकारले कमिसन घटाएको एक महिना अर्थात गत माघ २५ गते कारोबारले नयाँ रेकर्ड (१० अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो) बनाएको थियो ।
लगानीकर्ताले हाल कायम भएको ब्रोकर कमिसन अत्यधिक भएको र यसलाई समायोजन गर्नुपर्ने बारम्बार आवाज उठाएपछि बोर्डले अध्ययन समिति नै बनाएर कमिसन घटाएको थियो । तर, त्यसयता सेयर बजारमा कारोबारले नयाँ–नयाँ रेकर्ड नै बनाइरहेको छ ।
ब्रोकर कमिसन घटेपछि धेरै नयाँ लगानीकर्ता दोस्रो बजारमा प्रवेश गरे । त्यसैको प्रभाव कारोबार १० अर्ब माथि धेरै पटक पुगेको छ । अहिले पनि औसत ६ अर्बभन्दा माथि कारोबार भइरहेको छ ।
धितोपत्र दलाल व्यवसायीले ब्रोकर कमिसन घटाएपछि आफूहरूको आम्दानी घट्ने र खर्च उठाउनै नसकिने आँकलन गरेका थिए । तर, नयाँ लगानीकर्ता थपिएको र कारोबार पहिलाको तुलनामा दोब्बरभन्दा बढी हुन थालेपछि ब्रोकर कमिसन जति घट्यो उति धेरै लगानीकर्ताको सहभागिता हुने र त्यसले हाम्रो आम्दानीमा झनै टेवा पुग्ने बताउँछन् ।
अहिलेको व्यवस्थाअनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्छ । त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ ।
५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।
बोर्डले ३३ प्रतिशत कमिसन घटाउँदा कारोबार दोब्बर भएको छ । घटाइएको कमिसनले पुँजी बजारको विकास र विस्तारमा टेवा पुर्याएको छ नै । अझै बढी लगानीकर्तालाई सेयर बजारमा सहभागिता गराउने हो भने कारोबार रकम २० अर्ब रुपैयाँसम्म पुग्ने सक्ने ठूला लगानीकर्ताहरू बताउँछन् ।
गत पुस अघिसम्म कारोबार ४ देखि ५ अर्ब रुपैयाँ भइरहेको थियो । त्यो बेला ब्रोकरले जति कमाइरहेका थिए । पुस यता ब्रोकरको आम्दानी बढी भइरहेको छ । कारण–ब्रोकर कमिसन घटेपछि धेरै लगानीकर्ताको सहभागिता भयो र कारोबार बढ्यो । कारोबार बढ्ने बित्तिकै ब्रोकर कमिसन आफैं वृद्धि भइहाल्ने लगानीकर्ता गोपाल ओली बताउँछन् ।
अहिले धेरै लगानीकर्ता दोस्रो बजारमा प्रवेश गर्न चाहिरहेका छन् । उनीहरूलाई ल्याउन पनि बोर्डले अहिलेको ब्रोकर कमिसनलाई आधामा झार्नुपर्ने ओलीको सुझाव छ ।
‘ब्रोकर कमिसन आधा झार्ने बित्तिकै कारोबार २० अर्ब पुग्छ । त्यसो हुँदा ब्रोकर पनि कर्मामा परेनन् । लगानीकर्ताको पनि सक्रिय सहभागिता भयो र राज्यले पाउने कर पनि बढ्यो,’ ओलीले भने, ‘बोर्डले पुसमा कमिसन घटाउँदा कारोबार रकम कुन तहमा पुगेको छ । र, अहिले पुन रिभाइज गर्ने हो भने कारोबार रकमले दैनिक रुपमा नयाँ रेकर्ड बनाउँछ ।