काठमाडौं। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानमा रहेको गौरी टाप एक पवित्र धार्मिक पर्यटकीय गन्तव्य हो। यो स्थल हिन्दू धर्मावलम्बीहरूका लागि श्रद्धाको केन्द्र मानिन्छ। गौरी अर्थात् देवी पार्वती र टाप अर्थात् तपस्याको स्थान भन्ने जनविश्वासका आधारमा यो स्थानको नाम गौरी टाप रहन गएको हो।

स्थानीय बासिन्दाहरूका अनुसार माता गौरीले यस स्थानमा तपस्या गर्नुभएको जनविश्वास छ। माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा गौरी नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको सो क्रममा गाईको टाप (खुर) ढुंगामा बसेकाले यस ठाउँको नाम गौरी टाप रहन गएको जनविश्वास छ।
यो विश्वासले गर्दा यस शिव र पार्वतीको तपोभूमिको रूपमा पुजिने गरिन्छ। समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरी टाप धार्मिक तथा पर्र्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो। त्यहाँ पुग्दा धार्मिक शान्ति, आध्यात्मिक ऊर्जा र प्रकृतिसँगको सम्बन्धले भरिपूर्ण वातावरणको अनुभूति हुन्छ।
गत वैशाख २६ गतेदेखि २८ गतेसम्म स्पार्क कारले आयोजना गरेको तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा यही धार्मिक तथा पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिएको थियो। जसमा दुई सयभन्दा बढी विभिन्न विधा सक्रिया राष्ट्रिय कलाकार तथा व्यक्तिहरुको सहभागिता रहेको थियो।
त्यस अवसरमा उनीहरुले एक रात गौरी टाप डाँडामा टेन्ट क्याम्पिङमा बिताएका थिए। उनीहरुले उक्त क्षेत्र धार्मिक पर्यटनका लागि प्रमुख गन्तव्य भएको उल्लेख गर्दै अरुलाई पनि यहाँ आउन आह्वान गरेका थिए। विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्नका लागि र्गौरी टाप उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उनीहरुले यहाँको धार्मिक महत्वबारे जानकारी लिएका छ।
यस क्षेत्रलाई धर्मसँग जोडेर प्रवर्द्धन गर्न सकियो भने त्यसको लाभ यस क्षेत्रका नागरिकले लिन सक्ने उनीहरुको बुझाइ थियो। काठमाडौँबाट नजिक भएर पनि ओझेलमा परेको यस धार्मिक गन्तव्यलाई प्रवर्द्धन गर्दै यस क्षेत्रको विकास जरुरी भएको उनीहरुको भनाइ थियो।


