कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको बढ्दो खाद्यान्न आयात कम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले कोदो खेतीमा अग्रसर हुन कृषकलाई आग्रह गरेका छन्।
पहिलो राष्ट्रिय कोदो दिवस अवसरमा आज बिहान रेडियो नेपालको अन्तर्संवाद कार्यक्रममा मन्त्री अधिकारीले बढ्दो आयात खाडल कम गरेर निरोगी नेपालको लक्ष्य हासिल गर्न कोदो खेती सबैभन्दा उत्तम विकल्प भएको बताएका हुन्। सरकारले साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेबमोजिम आज पहिलो कोदो दिवस मनाइँदै छ।
मन्त्री अधिकारीले जलवायु परिवर्तनका कारणले उत्पन्न सुक्खा तथा खडेरीजस्ता अवस्थामा पनि कोदो उत्पादनमा कुनै असर नपर्ने भएकाले कोदो खेती प्रवद्र्धन गर्न सरकारले कार्यक्रम र बजेटसहित कृषकसंग सहकार्य अघि बढाउने निर्णय गरेको पनि जानकारी दिए। गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट ३ लाख बढी टन उत्पादन भएकामा यो वर्ष उक्त तथ्यांकमा उल्लेख्य वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीको भनाइ छ।
हरेक वर्ष ५० अर्ब बढी रुपैयाँ धान चामल आयातमा बिदेसिने गरेकामा यस वर्ष सुक्खाले थप २० प्रतिशत धान उत्पादन घढ्ने भएकाले सम्भावित खाद्यान्न संकट न्यूनीकरण गर्न कोदो उत्पादन अभियानमा सबै किसान जोडिनु आवश्यक भएको उनले बताए।
मधेस प्रदेशसहित तराई मधेसमा तीनै तहका सरकारको समन्वयमा ५ सय बढी डिप ट्युबेल जडानको काम सुरु भइसकेको र सिँचाइ प्रबन्ध हुन नसक्ने जमिनमा सुक्खामा पनि लगाउन मिल्ने जातका धान खेती गर्न नार्क र सम्पन्धित निकायले प्रक्रिया अघि बढाइसकेको मन्त्री अधिकारीले जानकारी दिए।
कोदो उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो नेपालीको परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्व रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै कोदोको उत्पादन बढाउन र परिकार उपभोग गर्न सबैसँग आग्रह गरेका हुन्। ‘कोदोको उत्पादन बढाऔं, कोदोका परिकार उपभोग गरौं! कोदो दिवसको शुभकामना!’ प्रधानमन्त्री ओलीले भनेका छन्।
यसैबीच आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ। भक्तपुरको ताथलीमा कृषिमन्त्री अधिकारीको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो। अधिकारीले कोदोसमेत रोपे।

-1754034558.jpeg)
-1754034558.jpeg)
-1754034560.jpeg)
-1754034556.jpeg)
-1754034556.jpeg)
-1754034508.jpeg)
-1754034508.jpeg)
-1754034405.jpeg)
-1754034405.jpeg)
-1754034298.jpeg)
-1754034298.jpeg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी