काठमाडाैं। विश्व प्रसिद्ध च्छो रोल्पा पदमार्ग दोलखा जिल्लामा पर्दछ। यो पदमार्गको मुख्य आकर्षण च्छो रोल्पा हिमताल हो। यो हिमताल समुन्द्री सतहबाट ४५०० मिटर उचाईमा अवस्थित रहेको छ।
च्छो रोल्पा पदमार्गमा यात्रा गर्नका लागी काठमाडौंबाट छेतछेत गाउँसम्म मोटरमा यात्रा गर्न सकिन्छ। त्यहीँबाट पदयात्रा सुरु हुन्छ। यात्रामा उकालो बाटोको यात्रा गर्नुपर्छ। तथापी, यात्राले दिने आनन्द भने एकदमै फरक, रमाइलो र अविस्मरणीय रहनेछ।

सिमि गाउँ, सुरमुचे, क्याल्चे, दोङवाङ, थामदिङ, बेदिङ र ना गाउँ पदमार्गका बस्तीहरु हुन्। यी गाउँहरू अत्यन्तै सुन्दर छन्। ना गाउँ अन्तिम मानव बस्ती हो। जहाँ पर्याप्त मात्रामा होटल र होमस्टे भेटिन्छन्। त्यहीँबाट च्छो रोल्पा पुग्न सहज हुन्छ।
यात्रा गर्दा गौरीशंकर हिमाल ऐना झै टल्किरहन्छ। जसले यात्राको सौन्दर्य झनै बढाइदिन्छ। च्छो रोल्पा पदमार्गको अर्को विशेष आकर्षण दुधकुण्ड हो। जुन च्छोरोल्पा ताल भन्दा करिब ३०० मिटर माथी उचाईमा अवस्थित रहेको छ। यहाँबाट रोल्वालिङ भ्याली र हिमशृङ्खलाहरू स्पष्टसँग देख्न सकिन्छ। जसको सुन्दरताले सबैलाई मनमोहित बनाउछ।
काठमाडौंबाट ६ दिनमा च्छो रोल्पा यात्रा पूरा गर्न सकिन्छ। जहाँबाट अन्य पदमार्गहरुमा समेत थप यात्रा गर्न सकिन्छ। च्छोरोल्पा यात्रा केवल हिमताल हेर्ने उद्देश्य मात्र नभइ, प्रकृति, संस्कृति र हिमाली जीवनशैलीलाई नजिकबाट बुझ्ने अद्भुत अवसर पनि हो।






