काठमाडौंको खुलामञ्च अहिले पुनःजागरणको अन्तिम चरणमा पुगेको छ। प्राकृतिक दुबोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा हुँदै गएसँगै खुलामञ्च अब छिट्टै सर्वसाधारणका लागि सधैंका लागि खुला हुने तयारीमा छ। अहिले शौचालय निर्माण र सिसीक्यामेरा जडानको काम मात्र बाँकी छ। केही सरसफाइसम्बन्धी अन्तिम काम भइरहेको छ।
चौरको १४ हजार ६ सय वर्गमिटर क्षेत्रमा नेपाली प्राकृतिक दुबो रोपिएको छ। पहिलेकै उबडखाबड जमिन मिलाएर मलिलो माटो राखी दुबो रोपिएकाले अहिले खुलामञ्चको हरियाली निकै लोभलाग्दो देखिन्छ।
महानगरको सार्वजनिक निर्माण विभागले सञ्चालन गरेको खेलकुद पूर्वाधार मर्मत, सुधार तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत यो कार्य सम्पन्न भएको हो। महानगरका सबै वडामा खेलकुद पूर्वाधार विकासका लागि छुट्याइएको ६ करोड ९८ लाख ७० हजार रुपैयाँमध्ये करिब ९० लाख खुलामञ्चको चौरमा दुबो रोप्न खर्च गरिएको थियो।
चौर वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग बनाइएको छ, जसका लागि सहरका अन्य स्थानको स्तरोन्नति क्रममा निकालिएका हेक्सागोनल ब्लक पुनःप्रयोग गरिएको हो। पैदल मार्गमा २१ वटा बिजुलीका पोल जडान गरिएको छ।। यी पोलमा दुई आर्म छन्-मैदानतर्फ १०० वाटको बत्ती र पैदल मार्गतर्फ ३० वाटको बत्ती। दुवै बत्ती डे–नाइट सेन्सरयुक्त भएकाले रातमा आफैँ बल्छन् र दिनमा निभ्छन्।
खुलामञ्चलाई सबैका लागि खुला र बहुपयोगी स्थानका रूपमा विकास गरिएको छ। बिहान शारीरिक व्यायाम गर्ने, बालबालिकालाई स्वतन्त्र रूपमा खेल्ने, ज्येष्ठ नागरिकलाई हिँडडुल तथा आराम गर्ने, सहरी जीवन नियाल्ने र युवालाई खेल अभ्यास तथा मनोरञ्जन गर्ने ठाउँका रूपमा यसलाई तयार पारिएको हो। मर्निङ वाकका लागि पनि यो मार्ग विशेष रूपमा उपयुक्त बनाइएको छ।
-1763703147.jpg)
-1763703138.jpg)
-1763703131.jpg)
-1763703143.jpg)
-1763703142.jpg)
-1763703131.jpg)
तस्बिरः सफल प्रकाश श्रेष्ठ