काठमाडौं । गैरआवासीय नेपालीले प्रवद्र्र्धन गरेको सानिमा हाइड्रो ग्रुपले निर्माण थालेको ७३ मेगावाटको मिडिल तमोर जलविद्युत आयोजनामा एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लगानी गर्ने भएको छ ।
एनआरएनको हालै बसेको सञ्चालक समिति बैठकले सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको आयोजनामा लगानीको निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उषा खतिवडाले जानकारी गराइन् । कम्पनीले लगानी गर्ने रकम भने खुलाएको छैन ।
एनआरएनले मिडिल तमोरमा आफ्नो नाममा कायम रहने गरी हालसम्म ६ करोड ४० लाख रुपैयाँ लगानी गरिसकेको छ । एनआरएनमा पनि गैरआवासीय नेपालको लगानी छ । एनआरएनले हालै सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिसकेको छ ।
यो पनि पढ्नुस
मिडिल तमोर जलविद्युतको काम ४० प्रतिशत सकियो, डेढ वर्षमा बिजुली बाल्ने लक्ष्य
हालसम्म आयोजनाको ४० प्रतिशत काम सकिएको छ । आयोजनाको बाँध, विद्युतगृहलगायत अझै ६० प्रतिशत निर्माण बाँकी छ । आयोजनाको ५ किलोमिटर लामो सुरुङमध्ये ४ किलोमिटर सकिएको छ ।
कोरोना भाइरस महामारीले गर्दा आयोजनाको काम प्रभावित भएको छ । तमोर नदीलाई डाइभर्सन गरेर बाँध निर्माणको काम सुरु हुन लागेको छ । इन्टेकको काम सकिएको छ ।
बाँध र विद्युतगृहको काम सुरु हुन बाँकी छ । आयोजना सम्पन्न हुन कम्तीमा डेढ वर्ष लाग्ने छ । आयोजना २०७९ को असारमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । यद्यपी कोरोना महामारीले गर्दा आयोजना केही समयपछि धकेलिने संभावना छ ।
आयोजना आन्तरिक खपतका लागि आयोजना निर्माण सुरु भएको हो । नदीको बहावमा आधारित (रन अफ दि रिभर) आयोजना बनाउन करिब १३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, नेपाल क्रेडिट एन्ड कर्मश (एनसीसी) बैंक, लक्ष्मी बैंक र नेपाल एसबीआई बैंकको लगानी छ ।
आयोजनाको कुल लागत १२ अर्ब ६८ करोड रुपैयाँ छ । यसमध्ये सात बैंकको सहवित्तीय करणमार्फत ७५ प्रतिशत ऋण लगानी भएको छ ।
मिडिल तमोर आयोजना पाँचथरको फुङलिङ नगरपालिका, पताङलुङ गाउँपालिकामा पर्छ । यस्तै विद्युतगृह मिक्वाखोला गाउँपालिकाको तमोर नदीको दायाँ किनार ताप्लेजुङमा पर्छ ।
पहिला आयोजना ५४ मेगावाटमा डिजाइन गरिएकोमा पछि बढाइ ७३ मेगावाट पुर्याइएको हो । आयोजनाको सिभिलको काम चीनको टेच्याङ फस्र्ट हाइड्रो, इलेक्ट्रोमेकानिकलको काम चीनको चोकिङ टवाईन कम्पनी र हाइड्रो मेकानिकल नेपालको माछापुच्छ्रे मेटल कम्पनीले गरिरहेका छन ।
सानिमा समूहले ७३ मेगावाटको मिडिल तमोर, २८.१ मेगावाटको लोअर लिखु र १४.३ मेगावाटको माथिल्लो मैलुङ आयोजना निर्माण गरिरहेको छ । २२ मेगावाटको सानिमामाई, ७ मेगावाटको सानिमा क्याकेड आयोजना सञ्चालन गरिरहेको छ ।