काठमाडौं । गैरआवासीय नेपालीले प्रवद्र्र्धन गरेको सानिमा हाइड्रो ग्रुपले निर्माण थालेको ७३ मेगावाटको मिडिल तमोर जलविद्युत आयोजनाको ४० प्रतिशत काम सकिएको छ । आयोजनाको बाँध, विद्युतगृहलगायत अझै ६० प्रतिशत निर्माण बाँकी छ ।
आयोजनाको ५ किलोमिटर लामो सुरुङ मध्ये ४ किलोमिटर सकिएको प्रवद्र्धक सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडका सञ्चालक डा. सुवर्णदाश श्रेष्ठले बताए ।
कोरोना भाइरस महामारीले गर्दा आयोजनाको काम प्रभावित भएको उनले जानकारी दिए । उनका अनुसार आयोजनाको काम सुस्त गतिमा छ ।
तमोर नदीलाई डाइभर्सन गरेर बाँध निर्माणको काम सुरु हुन लागेको छ । इन्टेकको काम सकिएको छ ।
बाँध र विद्युतगृहको काम सुरु हुन बाँकी रहेको सञ्चालक श्रेष्ठले जानकारी दिए । आयोजना सम्पन्न हुन कम्तिमा डेढ वर्ष लाग्ने उनले सुनाए । आयोजना २०७९ को असारमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । यद्यपी कोरोना महामारीले गर्दा आयोजना केही समय पछि धकेलिने संभावना छ ।
आयोजना आन्तरिक खपतका लागि आयोजना निर्माण सुरु भएको हो । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भइसकेको छ । नदीको बहावमा आधारित (रन अफ दि रिभर) आयोजना बनाउन करिव १३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, नेपाल क्रेडिट एन्ड कर्मश (एनसीसी) बैंक, लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकको लगानी छ । आयोजनाको कुल लागत १२ अर्ब ६८ करोड रुपैयाँ छ । यसमध्ये सात बैंकको सहवित्तीयकरणमार्फत ७५ प्रतिशत ऋण लगानी भएको छ ।
मिडिल तमोर आयोजना पाँचथरको फुङलिङ नगरपालिका, पताङलुङ गाउँपालिकामा पर्छ । यस्तै विद्युतगृह मिक्वाखोला गाउँपालिकाको तमोर नदीको दायाँ किनार ताप्लेजुङमा पर्छ ।
पहिला आयोजना ५४ मेगावाटमा डिजाइन गरिएकोमा पछि बढाइ ७३ मेगावाट पुर्याइएको हो । आयोजनाको सिभिलको काम चीनको टेच्याङ फस्र्ट हाइड्रो, इलेक्ट्रोमेकानिकलको काम चीनको चोकिङ टवाईन कम्पनी र हाइड्रो मेकानिकल नेपालको माछापुच्छ्रे मेटल कम्पनीले गरिरहेका छन ।
सानिमा समूहले ७३ मेगावाटको मिडिल तमोर, २८।१ मेगावाटको लोअर लिखु र १४।३ मेगावाटको माथिल्लो मैलुङ आयोजना निर्माण गरिरहेको छ । २२ मेगावाटको सानिमामाई, ७ मेगावाटको सानिमा क्याकेड आयोजना सञ्चालन गरिरहेको छ ।