काठमाडौं । सोमबार बिहान कालीमाटी तरकारी बजारको छेउमा सञ्चालित माछा व्यापारी अनुगमन टोली पुग्ने बित्तिकै पसलको सटर बन्द गरी भागेका छन् । त्यहाँ रहेका २६ वटा माछा पसलमध्ये १५ वटा पसलका व्यापारी सटर तानेर यताउता लागेका हुन् ।
महानगरको अनुगमन टोली बजारमा पुगेर फलफूल बजारतर्फबाट माछा पसलको अनुगमन थालेपछि मूल ढोकातर्फका १५ वटा पसलका व्यापारीले सटर तानेर भागेका हुन् ।
यस क्रममा कसैले ताल्चा नै लगाउन भ्याए भने कसैले भ्याएनन् । व्यापारीले सटर तान्दा अनुगमन टोली सप्तरी माछा पसलमा भेटिएको ९ किलो सडेको माछा जफत गर्दै थियो । ‘आइस हाल्न बिर्सेछु । माछा त्यति त बिग्रेको छैन । अलिअलि मात्र हो ।’ माछा पसलका सञ्चालक मोहम्मद मज्लुम मियाँ आफूलाई बचावट गर्दै थिए ।
व्यापारीहरु भागे त ? कैफियत के हो ? प्रश्नको उत्तरमा महानगरको पशु सेवा बिभागका पशु सेवा अधिकृत डम्मरबहादुर बम भन्दै थिए, ‘माछाको गुणस्तरमा भन्दा, खरिद बिक्री बिल जारी नगरेकोमा व्यापारी आत्तिएका हुन् । अनुगमनका क्रममा हेरिएका पसलहरुमध्ये धेरैमा दर्ता, नवीकरण र खरिद बिक्री बिलमा समस्या देखियो ।’
खरिद बिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ गरिएको हो ? भन्ने कुरा थाहा हुँदैन । अनुगमनका क्रममा रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘खरिद बिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो ।’
‘यो अनुगमनको हामी स्वागत गर्छौं । हाम्रा व्यापारीलाई सुध्रिने समय दिनोस् ।’ अनुगमन गर्दा गर्दै आउनु भएका काठमाडौं माछा बजार समितिका अध्यक्ष वीरेन्द्रकुमार यादव भने, ‘कानुन नमान्ने व्यापारीलाई कारबाही गर्न हामी पनि सघाउँछौं ।’