काठमाडौं । संस्थापक लगानीकर्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले पुँजी थप नगर्दा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को हकप्रद सेयर निष्कासन अवरुद्ध भएको छ ।
एचआईडीसीएलले जलविद्युतमा लगानी गर्नका लागि पुँजीगत आधार बलियो बनाउन शत प्रतिशत हकप्रद सेयर निष्कासन गरेर चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउन निर्णय गरेको थियो । पुँजी बढाउन २०७५ साउनकोे दोस्रो साता बसेको एचआईडीसीएलको १७० औं सञ्चालक समिति बैठकले ऊर्जामा लगानी बढाउन शत प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।
दुई अर्ब रुपैयाँ पुँजी थप गर्न सञ्चय कोष र लगानी कोषलाई पटक पटक पत्राचार गर्दा पनि यसतर्फ चासो नदेखाएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । उनीहरुलाई अन्तिम ताकेता गरिरहेको बताउँदै उनले सञ्चय कोष र लगानी कोष नआए नयाँ लगानीकर्ता भित्र्याएर पुँजी बढाउने जानकारी दिए । नदिने भए सञ्चालक समितिबाट पुँजी नथप्ने निर्णसहितको पत्र पठाउन भनेको उनले बताए । सञ्चय र नागरिकले १÷१ अर्ब रुपैयाँ पुँजी थप गर्नुपर्छ ।
दुई संस्थाले लगानी थपेपछि एचआईडीसीएलको पुँजी बोनस सेयरसमेत गरेर २२ अर्ब रुपैयाँ पुग्ने छ । दुवै कोषले पुँजी नथपेपछि दुई अर्ब रुपैयाँबराबरका २ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न नपाएको उनले जानकारी दिए । कम्पनीसँग अहिले १८ अर्ब रुपैयाँ पुँजी पुगेको छ । ४ अर्ब रुपैयाँ पुँजी थप हुन बाँकी छ ।
दुवै कोषले निर्णय नगर्दा हकप्रद निष्कासन गर्नुअघि संस्थापकबाट सबै लगानी आउनुपर्छ । ‘दुवै संस्थाले पैसा नथपेपछि निष्कासन गर्न पाएका छैनौं,’ उनले क्याटिल नेपालसँग भने ।
यसअघि एचआईडीसीएलले दुई अर्ब रुपैयाँबराबरका दुई करोड कित्ता आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीमा सरकारको ८० र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ ।
थप १० अर्ब रुपैयाँमध्ये ५ अर्ब रुपैयाँ सरकारले एक वर्षअघि साउनमै एचआईडीसीएललाई दिएको छ । जसअनुसार अर्थ मन्त्रालयले दुई अर्ब, जलस्रोत तथा ऊर्जा तथा सिँचाइ मन्त्रालयले एक अर्ब, कानुन तथा न्याय मन्त्रालयले एक अर्ब र महालेखा नियन्त्रकको कार्यालयले एक अर्ब रुपैयाँ थप लगानी गरेका छन् ।
गत वर्ष ८६ करोड नाफा
एचआईडीसीएलले गत आर्थिक वर्षमा ८६ करोड रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले बैङ्कमा राखेको निक्षेपको ब्याज र लगानी ब्याजबाट गरी सो रकम नाफा गरको हो । सोमध्ये ४० करोड रुपैयाँ लगानीको ब्याजबाट आम्दानी गरेको सीईओ पोखरेलले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा कम्पनीले गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिएको थियो ।