काठमाडौं । व्यापारीले पानीको जारको मूल्य बढाएका छन् । काठमाडौं उपत्यकाभित्रको अधिकांश खुद्रा पसलले पानीको जारको मूल्य ५० रुपैयाँसम्म लिन थालेका हुन् ।
यसअघि उपभोक्ताले ३० देखि ३५ रुपैयाँसम्ममा जारको पानी किने पनि यसअघि वाणिज्य विभागले पानी जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ निर्धारण गरेपछि व्यापारीले मौका छोपेका हुन् ।
३५ रुपैयाँमा किन्दै आएको पानीको जार अहिले ५० रुपैयाँसम्ममा किन्नुपर्ने कपुरधाराका पुष्कर खड्काको गुनासो छ । ‘मैले ३५ रुपैयाँसम्म पानीको जार ल्याउँथे । अहिले ५० रुपैयाँसम्म पसलले लिन्छ, किन बढाएको भनेर सोध्दा सरकराले नै तोकेको हो, उतैबाट बढेर आएको भन्छन्’ उनले दुखेसो थियो ।
अहिले जताततैका व्यापारीले पानीको जारको मूल्य बढाउँदा पनि वाणिज्य विभाग मुकदर्शक बनेको उपभोक्ताकर्मी माधव तिमल्सिना बताउँछन् । ‘अहिले जताततैका पसलेले पानीको जारको मूल्य बढाएका छन् । सरासर उपभोक्ता ठगिएका छन्’, उनले भने, ‘यसरी उपभोक्ता ठगिँदा पनि वाणिज्य विभागले अनुगमन गरेर कारबाही गर्न सकेन, मुकदर्शक जस्तै बन्यो ।’
पानीको जारको मूल्य बढेको गुनासो स्वयम् वाणिज्य विभागमै प्राप्त भएका छन् । तर, अनुगमन गर्ने गरी विभागको तयारी छैन । मूल्य बढाएर पानीको जार बेचेको बिल उपभोक्ताले बुझाएमा तत्काल त्यस्ता व्यापारीलाई कारबाही गर्ने विभागमा निर्देशक रवीन्द्र आचार्य बताउँछन् । तर, व्यापारीले पानीको जारको बिल दिन मान्दैनन् ।
यता, उपभोक्ताले पनि बिल नखोज्ने र मूल्य बढ्यो भनेर हौवा फिजाउन नहुने आचार्यको तर्क छ । जारको पानीको मूल्य बढाएपछि केही उपभोक्ता संस्थाले उपभोक्तालाई मार परेको भन्दै संसदीय समितिमा समेत निवेदन बुझाएका थिए । तर, समितिले पनि कुनै निर्देशन अहिलेसम्म दिन सकेको छैन ।