काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिल आफ्नो एक नम्बरको पोजिसनलाई कायमै राख्न सञ्चालक समिति र व्यवस्थापनलाई थप बलियो बनाउँदै लगेको छ । व्यवसाय विस्तारका साथै बजारमा आफ्नो प्रभुत्व कायम राख्न नबिलले धमाधम अनुभवी बैंकरहरूलाई बोर्ड र व्यवस्थापनमा भित्र्याइरहेको छ ।
नबिलले सञ्चालक समितिलाई चुस्तदुरुस्त र अझ जुझारु बनाउन बोर्ड अध्यक्षमा अनुभवी बैंकर उपेन्द्र पौडेललाई चयन गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट वित्तीय क्षेत्रमा प्रवेश गरेका पौडेलले आफ्नै अग्रसरतामा एनएमबी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको व्यवस्थापन सम्हालेका थिए ।
पछि फाइनान्सलाई एनएमबी बैंकमा स्तरोन्नति गरी सफल बैंकरका रूपमा चिनिएका पौडेल केही समयअघि नबिल बैंकको सञ्चालक भएका थिए । नबिलमा अध्यक्ष रूपमा रहेका शम्भु पौडेलको अवधि पूरा भएपछि उपेन्द्र अध्यक्षमा नियुक्त भएका हुन् । हाल नबिलको सञ्चालक समितिमा पौडेलबाहेक निर्वाणकुमार चौधरी, मलय मुखर्जी, महेशराज पन्त र आशा राणा अधिकारी छन् ।
नेपाल बैंकर्स संघको अध्यक्षसमेत भएर वित्तीय क्षेत्रमा कुशल बैंकर ठहरिएका पौडेल नबिलको अध्यक्ष हुँदा बैंकको नीति निर्माणमा अझ चुस्तता आउने विश्वास गरिएको छ ।
तीन दशकसम्म बढी समयमा वित्तीय क्षेत्रमा बिताएकी आशा राणा अधिकारी नबिलको सञ्चालक छिन् । हिमालयन बैंक हुँदै सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) भइसकेकी राणाले राष्ट्रिय वाणिज्य बैंकमासमेत काम गरेकी थिइन् ।
बैंक व्यवस्थापनको नेतृत्व अनिलकेशरी शाहले गर्दै आएका छन् । उनी अनुभवी बैंकर हुन् । नबिलमा सीईओ छाडेपछि अनिलले मेगा बैंकको सुरुवाती सीईओ भएर ८ वर्ष बिताएका थिए , त्यसपछि पुनः नबिलको सीईओ भएका हुन् ।
नबिलमा डेपुटी सीईओको रूपमा सुजितकुमार शाक्यको प्रवेश भएको छ । ग्लोबल आईएमई बैंकमा रहेका शाक्य दुई महिनाअघि मात्र नबिल पुगेका हुन् ।
त्यसैगरी ज्योति विकास बैंकको सीईओबाट राजीनामा दिएर मनोज ज्ञवालीसमेत नायव महाप्रवन्धक रूपमा नबिलमा प्रवेश गरेका छन् । चार्टर्ड एकाउन्टेन्ट (सीए) रहेका ज्ञवालीको नबिल प्रवेशले बैंकप्रतिको विश्वास अझ प्रगाढ भएका रूपमा अथ्र्याउने गरेका छन् ।
पछिल्लो समयमा नबिलले अनुभवी तथा राम्रो काम गर्ने बैंकहरूलाई छानिछानी भित्र्याइरहेको छ । अनुभवीलाई नियुक्त गरेर नबिल अझ सशक्त बैंक बन्ने तयारीमा लागेको छ ।
स्टाण्डर्ड चार्टर्ड बैंकबाट आदर्श बजगाईं पनि नबिल बैंक पुगेका छन् । केही महिनाअघि नबिल पुगेका बजगाईंको बैंकिङ क्षेत्रमा राम्रो अनुभव छ । उनी नायव महाप्रवन्धक पदमा नबिल पुगेका हुन् ।
बजारमा राम्रो प्रभाव जमाएका गणेश अवस्थीलाई पनि नबिल बैंकले भित्र्याएको छ । ग्लोबल बैंकमा रहेका अवस्थी पनि चिफ ब्राञ्च बैंकिङमा नबिल छिरेका हुन् ।
उनले चिफ ब्राञ्च बैंकिङ भूमिका निभाइरहेका छन् । दुई दशक बैंकिङ अनुभव सँगालेका अवस्थीको कर्पाेरेट, शाखा व्यवस्थापन र ठूला उद्योगीबीच राम्रो सम्बन्ध छ ।
राम्रो र अनुभवी टिम भएमा सफल बन्न सकिन्छ भन्ने मान्यताका आधारमा राम्रा र अनुभवी बैंकरलाई एकपछि अर्को गर्दै नबिलमा छिराएको हो । नयाँ टिमको उत्कृष्ट प्रदर्शनले आगामी दिनमा बैंकले झनै राम्रो प्रगति गर्ने अनुमान गर्न सकिन्छ ।
नयाँ टिममात्र होइन नबिलभित्र नै लामो समय विनय रेग्मी पनि छन् । रेग्मी अहिले नायव प्रमुख कार्यकारी अधिकृत छन् । नबिल बैंकमै मात्र उनको ३० वर्षको अनुभव छ ।
रमेश लोहनी, दीपक श्रेष्ठ, कृष्ण भट्टराई लामो समयदेखि नबिलमा कार्यरत छन् । उनीहरुमा विभिन्न विभागहरु सञ्चालन सम्बन्धि राम्रो ज्ञान रहेको छ ।
यसैगरी नमिता दिक्षित, ज्ञानेन्द्रप्रताप शाह, राजेन्द्रबहादुर मल्ल रोशन कोइरालाले पनि लामो समयदेखि विभागीय प्रमुखको जिम्मेबारी सम्हालेका छन् । प्रमुख दायित्व व्यवस्थापन विभाग र सञ्चार प्रमुखमा नबिलले कृष्ण सुवेदीलाई ल्याएको छ । सुवेदीको बजार व्यवस्थापनमा राम्रो अनुभव छ ।
नबिलमा राष्ट्र बैंकका गभर्नर भइसकेका व्यक्ति सत्येन्द्रप्यारा श्रेष्ठ र कायममुकायम गभर्नर कृष्णबहादुर मानन्धरले यसअघि नै सञ्चालक समितिको नेतृत्व गरेका छन् ।
बैंक स्थापनादेखि नै टिमअपमा ध्यान दिइरहेको नबिलको वृद्धि पनि प्राकृतिक देखिन्छ । नबिल नेपालको सबैभन्दा ठूलो व्यवसायिक घराना चौधरी ग्रुपद्धवारा प्रर्वद्धित बैंक हो ।
लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिएका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २७ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा महँगो सेयरका रूपमा नबिल रहेको छ । यस्तै वित्तीय विवरण (ब्यालेन्स सिट)को हिसाबमा नबिल अग्रपंक्तिमा छ ।
गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा कम भए पनि उसले औसतमा राम्रो नाफा कमाएको छ । गत वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांशको प्रस्ताव नबिलले अहिलेसम्म गरेको छैन ।
गत आर्थिक वर्षमा नबिलले सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी ३४ प्रतिशत लाभांश दिएको थियो । गत वर्ष बैंकले १ अर्ब ८ करोड १४ लाख २१ हजार ४ सय रुपैयाँ बराबरको बोनस वितरण गरेको हो भने १ अर्ब ९८ करोड २६ लाख ५ हजार ९ सय रुपैयाँ नगद लाभांश बाँडेको हो ।
स्थापनाको ३६ वर्ष प्रवेश गरेको नबिलले डिजिटल बैंकिङ सुरु गरेको छ । उसले हालै मात्र युवापुस्तालाई लक्षित गर्दै ‘नबिल डिजीबैंक’ सेवा सुरु गरेको छ ।
राज्यलाई राजश्वमा योगदान, सेयरधनीलाई उचित प्रतिफल
नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ । नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको नबिलले राज्य र लगानीकर्तालाई भरपुर आर्थिक योगदान गर्दैै आफ्नो व्यवसाय र सेवा तीव्र रुपमा विस्तार गरिरहेको छ ।
२०४१ सालमा स्थापना भएको बैंकले सोही वर्ष १ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ करोड ३३ लाख रुपैयाँ ऋण लगानी गरेको थियो । २०४१ सालमा १ सय ४४ जना कर्मचारी थिए भने एउटा मात्रै शाखा सञ्चालनमा थियो । तर, २०७६/०७७ सम्ममा बैंकले आयकरबापत सरकारलाई १५ अर्ब ५ करोड ९४ लाख रुपैयाँ बुझएको छ ।