काठमाडौं । सीर्ई ग्रुपले स्थापना गरेको सामलिङ्ग पावर कम्पनी लिमिटडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले जलविद्युत् आयोजनामा लगानी जुटाउन १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले इलाममा ९.५१ मेगावाटको माईबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता (अण्डरराइटर) नियुक्त गरेको छ । कम्पनी र एनआईबिएल एस क्यापिटलबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानु पोखरेल र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्। बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
ऊर्जा डेभलपर्सको सामलिङ्ग पावर इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट चालू आर्थिक वर्षमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।
आयोजना सम्पन्न भएपछि वार्षिक ५ करोड ३२ लाख ८० युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १३२ ३३ केभी गोदक सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
कम्पनीका अध्यक्ष विजयबहादुर राजभण्डारीले अहिलेको प्रतिकूल अवस्थाका बाबजुद आयोजनाको सिभिल निर्माण कार्य जारी राखेर अन्तिम चरणमा पुर्याएको बताए । उनले आयोजनाको विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको बताए ।
कम्पनीले दिगो जलविद्युत आयोजना निर्माण गर्ने रणनिति लिएकाले आयोजनाको सार्वजनिक सेयर निष्कासन प्रभावित क्षेत्रका स्थानीयबासी तथा लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्ने विश्वास लिएको पनि अध्यक्ष राजभण्डारीले बताए ।
कम्पनी स्थापना भएको ४ वर्षको अवधिमा ऊर्जा डेभलपर्सले सहायक कम्पनीहरुमार्फत ४९ मेगावाटको अर्धजलाशय आयोजना निर्माण गरिरहेको छ । अन्य ६ आयोजना निर्माणको विभिन्न प्रक्रिया पूरा गर्ने चरणमा छन् ।