काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताएका छन् । कोभिड १९ को परीक्षण, उपचार गराउँदै नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमा मन्त्री पौडेलले जीवन र जीविकारक्षामा सरकारले ध्यान दिने बताए ।
कोभिडका कारण रोजगारी, उत्पादन गम्भीर रूपमा प्रभावित हुँदा अर्थतन्त्रमा संकुचन आएको बताए । कोभिडकै प्रभावको बीचमा उत्पादन बढाउदै रोजगारी सृजना गर्नु पर्ने र अर्थतन्त्रलाई गतिशिल बनाउनुपर्ने उनले बताए ।
कोभिडको असर कहिलेसम्म रहन्छ भन्न सकिँदैन । यो विश्वको साझा समस्या हो उनले भने, यहि असरका बीचमा पनि नीतिका प्रबन्धबाट उत्पादन बृद्धि गर्दै रोजगारी सृजना गरेर अर्थतन्त्रलाई गतिशिल बनाउन सरकार प्रतिबद्द छ उनले भने । उनले कोभिडसँग लड्न संसारमा भईरहेको प्रयासलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउनु पर्ने बताए ।
मन्त्री पौडेलले सरकारको काम, कारबाहीको रचनात्मक आलोचनालाई सहज रूपमा लिने पनि बताए । आलोचनाले सरकारलाई सकारात्मक रूपमै सहयोग गर्छ उनले भने, लोकतन्त्रलाई सुदृढ गर्न, पारदर्शिता र सुशासनमा मिडियाको भुमिका महत्वपूर्ण छ ।
सेजन अध्यक्ष भीम गौतमले कोरोना महामारीबाट थलिएकोअर्थतन्त्रलाई पुनःउत्थान गर्ने गरि पुरक बजेट ल्याउन सुझाव दिए । सेजनले पारदर्शिता र आर्थिक अनुशासन गर्न, निजी क्षेत्र, प्रतिपक्ष दलहरू, नागरिक समाज, प्राज्ञिक क्षेत्रलगायत अर्थतन्त्रसँग सम्बन्धित सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै अर्थतन्त्र सुधारमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिएको छ ।