काठमाडौं । गत आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वृद्धि ७ प्रतिशत नाघेको छ । गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ७.१ प्रतिशत पुगेको छ ।
कृषि उत्पादनमा वृद्धि, उर्जा आपूर्तिमा सहजता, निर्माण कार्यमा तीव्रता, औद्योगिक उत्पादन विस्तार तथा पर्यटक आगमन बढेका कारण आर्थिक वृद्धि उच्च रहेको नेपाल राष्ट्र बैङकले जनाएको छ ।
सरकारले गत आर्थिक वर्षमा आर्थिक वृद्धि ८ प्रतिशत हुने प्रक्षेपण गरेकोमा पुँजीगत खर्च कम भएपछि यसको असर परेको हो । चालु आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । लगातार पछिल्ला ३ आर्थिक वर्षमा आर्थिक वृद्धि राम्रो देखिएको छ ।
गत आवमा कुल गार्हस्थ्य बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २०.५ प्रतिशत र कुल राष्ट्रिय बचतको यस्तो अनुपात ५२.४ प्रतिशत पुगेको अनुमान छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः १७.८ प्रतिशत र ४७.१ प्रतिशत रहेका थिए ।
लक्ष्य भन्दा कम खर्च र राजश्व संकलन
महालेखा नियन्त्रक कार्यालयको आर्थिक वर्ष २०७५/०७६ को प्राप्ति तथा खर्चको प्रारम्भिक विवरण अनुसार चालु खर्च ७ खर्ब १४ अर्ब ९८ करोड, पुँजीगत २ खर्ब ३८ अर्ब ३६ करोड र वित्तीय व्यवस्थामा १ खर्ब ४१ अर्ब २४ करोड रुपैयाँ थियो ।
राजस्व संकलन ८ खर्ब ५९ अर्ब ६० करोड भएको छ । गत आवमा सरकारले आन्तरिक ऋण ९६ अर्ब ३८ करोड रुपैयाँ परिचालन गरेको छ । ३४ अर्ब ३१ करोड रुपैयाँ ऋण भुत्तानी गरेको छ ।