काठमाडौं । संसारभर प्रचलनमा रहेको इन्ट्रा डे सेयर ट्रेडिङलाई नेपालमा पनि खुला गरिने भएको छ । त्यसका लागि नियामक निकाय धितोपत्र बोर्डले आवश्यक तयारी थालेको हो ।
ब्रोकरको अहिलेको टीएमएस सिष्टमबाट इन्ट्रा डे ट्रेडिङ सम्भव नहुने भएपछि बोर्डले सम्पूर्ण ब्रोकरलाई सिष्टम अपग्रेडका लागि निर्देशनसमेत गइसकेको बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए ।
‘इन्ट्रा डे सेयर ट्रेडिङ’को प्रचलन संसारभर छ । बजारमा लगानीकर्ता विभिन्न खालका हुन्छन् । उनीहरूको आ–आफ्नै चाहना, आवश्यकता र सेयर कारोबार हुन्छन् ।
कोही मान्छेले आजै किनेर आजै बेच्छु भन्यो भने त्यो पनि पाउनुपर्छ । कोही लगानीकर्ताले आज राखेर ७ दिन पछि बेच्छुभन्दा पनि पाउनुपर्छ । कसैले आज किनेर म एक वर्षसम्म होल्ड गर्छु भन्छ भने त्यो पनि पाउनुपर्यो’ बोर्डका अध्यक्ष ढुङ्गानाले भने, ‘ सेयर आज किनेर आजै बेच्नु भनेको एक किसिमको सट्टेबाजी टाइपको कारोबार हो । आज किनेर ६ महिनापछि बेच्छु भन्छ भने त्यो सेमी इन्भेष्टमेन्ट हो । आज किनेर १ वर्ष पछि बेच्छु भन्यो भने इन्भेष्टमेन्ट हो ।’
त्यही भएर बोर्डले सबै किसिमका कारोबारलाई खुलाउन चाहेको उनको भनाइ छ । ‘इन्ट्रा डे ट्रेडिङ लागू गर्दा सबैभन्दा पहिला ब्रोकरको सिष्टम भरपर्दो र दिगो हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि हामी ब्रोकर कम्पनीसँग संघन छलफलमा छौं ।’
ब्रोकरले हालको सिष्टमलाई अपग्रेड गरेपछि बोर्डले करका दर पनि निर्धारण गर्नुपर्छ । विभिन्न किसिमका कारोबारका लागि विभिन्न किसिमको करको दर विभिन्न मुलुकले निर्धारण गरेका छन् । सोही दरलाई हेरेर बोर्डले पनि नयाँ दर कायम गर्नुपर्ने ढुङ्गाना बताउँछन् ।
‘आजै किनेर आजै बेच्नेलाई करको दर उच्च छ । एक वर्षभित्र बेच्नलाई एउटा खालको करको दर लाग्छ भने लामो समयसम्म नबेच्नेलाई कम कर लाग्छ,’ उनले भने ।
इन्ट्रा डे ट्रेडिङ पहिल्यै दिनुपर्ने हो, आवश्यकता पनि हो । तर, इन्ट्रा डे ट्रेडिङ दिनुपूर्व एउटा पद्धतिको विकास गर्नुपर्ने हुन्छ । इन्ट्रा डे ट्रेडिङ गर्नका लागि ब्रोकरहरूको टीएमएस सक्षम छैन । त्यही भएर हामीले ब्रोकरलाई विभिन्न खाले प्रोडक्ट दिने खालको टीएमएस ल्याउन भनेर बोर्डले भनेको छ ।
ब्रोकरहरूले त्यो रिक्वायरमेन्ट पूरा गर्नका लागि एउटा कम्पनी खोलेर आधुनिक टीएमएस ल्याउने भनेर लागेका छन् । ब्रोकरले त्यो व्यवस्था ल्याइसकेपछि बोर्डले इन्ट्रा डे ट्रेडिङ दिने ढुङ्गानाले बताए ।
‘त्यसका लागि केही वर्कआउट गर्नुपर्छ । कन्ट्रोल मेकानिजम पनि दरिलो बनाउनुपर्छ,’ उनले भने, ‘इन्ट्रा डे ट्रेडिङ दिँदा सरकारलाई पनि राजस्वमा राम्रै योगदान हुन्छ ।’
के हो इन्ट्रा डे ट्रेडिङ ?
संसार प्रचलनमा रहेको ‘इन्ट्रा डे ट्रेडिङ’ लगानीकर्ताले चाहेका सेयर किनेकै दिन बेच्न सकिने प्रक्रिया इन्ट्रा डे ट्रेडिङ हो । विश्वका वर्षौंदेखि प्रचलनमा छ । तर, नेपालमा अहिलेसम्म धितोपत्र बोर्डले यसलाई खुलाएको छैन् । तर, अब छिट्टै खुलाउने तयारीमा छ ।