काठमाडौं । सेयर मूल्य निरन्तर बढेपछि नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड बजार पुँजीकरणको दोस्रो स्थानमा उक्लिएको छ । नेपाल रि–इन्स्योरेन्सले नबिल बैंकलाई पछि पार्दै दोस्रोमा पुगेको हो । नबिल बैंक बजार पुँजीकरणमा तेस्रो स्थानमा झरेको छ । नेपाल रि–इन्स्योरेन्सको बजार पुँजीकरण १ खर्ब रुपैयाँ नजिक पुगेको छ ।
यो साता नेपाल रि–इन्स्योरेन्सको बजारपुँजीकरण बढेर ९८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । नेपाल रिको सेयर मूल्य बढेर प्रतिकित्ता ९८३ रुपैयाँ पुगेको छ । यो साता नेपाल रिको सेयर मूल्य निरन्तर बढेको छ । नबिलको ८९ अर्ब ४५ करोड रुपैयाँ छ । नबिलको दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता ८८७ रुपैयाँ छ ।
बजार पुँजीकरणमा नेपाल टेलिकम पहिलो स्थान कायमै छ । यो साता टेलिकमको बजार पुँजीकरण बढेर १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो साता टेलिकमको सेयर मूल्य बढेर प्रतिकित्ता ९५४ रुपैयाँमा कारोबार भएको छ । यो साता टेलिकमको सेयर मूल्य र कारोबार रकम दुवै बढेको छ ।
बजार पुँजीकरणको चौथो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, पाँचौं स्थानमा नागरिक लगानी कोष, छैठौंमा एनआईसी एसिया बैंक, सातौंमा एनएमबी बैंक, आठौंमा नेपाल इन्भेस्टमेन्ट बैंक, नवौंमा हिमालयन बैंक र १० औं स्थानमा एभरेष्ट बैंक छन् ।
पछिल्लो समयमा नेपाल इन्भेस्टमेन्टको सेयर मूल्य कम भएपछि बजार पुँजीकरण पनि घटेर आठौं स्थानमा झरेको छ । केही महिना अघिसम्म नेपाल इन्भेस्टमेन्ट बजार पुँजीकरणका आधारमा तेस्रो स्थानमा थियो ।
पछिल्लो समयमा बजार पुँजीकरणमा नयाँ कम्पनीहरूको प्रवेश भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण बढेर २३ खर्ब २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।
यो साता सेयर कारोबार ६५.६६ प्रतिशत बढेर २० अर्ब २४ करोड रुपैयाँको भएको छ । बिहीबार मात्रै सर्वाधिक झण्डै ५ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्लो साता १२ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
