काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छ । असोजसम्म नेपाल लाइफको खुदनाफा १२ प्रतिशतले बढेर २२ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा नेपाल लाइफको खुदनाफा २० करोड ४४ लाख रुपैयाँ थियो ।
प्रतिशतका आधारमा नाफा धेरै बढाउनेमा नेपाल र भारतीय संयुक्त लगानीमा सञ्चालित लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेड रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एलआईसीको नाफा १४४.६४ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा एलआइसीको नाफा २ करोड ३६ लाख रुपैयाँ मात्र थियो । पहिलो त्रैमाशमा ८ वटा जीवन बिमा कम्पनीको खुदनाफा बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । अन्य जीबन बिमा कम्पनीहरुले वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ ।
यसैगरी प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको २०.४६ प्रतिशतले बढेर १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड रुपैयाँ मात्र नाफा थियो । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुदनाफा २.५७ प्रतिशतले बढेर ११ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुदनाफा २८.९५ प्रतिशतले बढेर १० करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सूर्या लाइफको नाफा ७ करोड ८७ लाख रुपैयाँ थियो ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा १३३ प्रतिशत बढेर ९ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा एसियनको नाफा ४ करोड २ लाख रुपैयाँ थियो ।
नाफा बढाउनेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छ । गुराँसको नाफा ३३ प्रतिशतले बढेर ४ करोड २७ लाख रुपैयाँ पुगेको छ । रिलायन्स इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा ६२.४३ प्रतिशतले बढेर ३ करोड रुपैयाँ पुगेको छ ।
जीवन बिमा कम्पनीहरुको यो नाफा बिमाङकीय मूल्यांकन (एक्च्युअरी) अघिको हो । एक्च्युअरीपछि कम्पनीको वास्तविक नाफा आउनेछ ।