काठमाडौं । दिनहुँ सेयर बजारले नयाँ रेकर्ड बनाउँदै गएको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उछाल आएको छ ।
बिहीबार सेयर बजार ३६.३२ अंक बढेर नेप्से परिसूचक १ हजार ७७८ अंकमा पुगेको छ । सेयर बजार निरन्तर ‘बुलिस ट्रेन्ड’मा रहँदा बिहीबार हालसम्मकै सर्वाधिक अर्थात ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँ बराबरको १ करोड ४० लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ ।
बैंक तथा वित्त, विकास बैंक, जलविद्युत्, होटल, उत्पादनमूलक, बिमा, लघुवित्त र म्युचअल फण्ड सूचीकृत सबै समूहमा हरियाली देखिएको । नेप्सेमा कारोबारले नयाँ रेकर्ड बनाउँदा १० वटा कम्पनीको सेयर मूल्यमा ‘पोजेटिभ सर्किट’ लागेको छ ।
‘पोजेटिभ सर्किट’ लाग्ने कम्पनीहरुमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, बोटलर्स तराई लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेको इन्स्योरेन्स लिमिटेड रहेका छन् ।
यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सोल्टी होटल्स लिमिटेड र एनआरएन एन्ड इन्फास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल रिको प्रतिकित्ता १ हजार ११० रुपैयाँमा ४१ करोड ८ लाख ४५ हजार रुपैयाँको सेयर कारोबार भयो ।
यस्तै हिमालयन डिस्टिलरीको २ हजार ९२८ मा २७ करोड ७ लाख ५३ हजार र नेपाल लाइफ इन्स्योरेन्सको १ हजार ६७२ मा २६ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी १८ करोड ४३ लाख, नेपाल टेलिकमको १७ करोड ३१ लाख, नेको इन्स्योरेन्सको १६ करोड ७७ लाख, शिवम् सिमेन्टको १६ करोड १८ लाख ६२ लाख र एनआइसी एशिया बैंकको १५ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
