काठमाडौं । बैंक तथा वित्तीय संस्थामा जागिर खान अनिवार्य रुपमा पुलिस रिपोर्ट पेस गर्नुपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको पैसा कर्मचारीबाट दुरुपयोग तथा हिनामिना नहोस् भन्ने उद्देश्यले जागिरका लागि आवेदन दिने व्यक्तिले अनिवार्य रुपमा प्रहरी रिपोर्ट पेस गर्नुपर्ने बैंकहरूले बताएका छन् ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले अधिकांश बैंकले बैंकमा जागिर खान चाहनेले अनिवार्य रुपमा प्रहरी रिपोर्ट माग्ने गरेको बताए । ‘जागिरका लागि आवेदन दिनेको पृष्ठभूमि बुझ्नका लागि प्रहरी रिपोर्ट माग्न थालिएको छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले भने, ‘सानिमाले पनि नयाँ कर्मचारी राख्दा अनिवार्य रुपमा प्रहरी रिपोर्ट माग्ने गरेको छ ।’
बैंकमा काम गर्ने केही कर्मचारीको बदमासीका कारण अहिले अधिकांश बैंकले नयाँ कर्मचारी राख्दा अनिवार्य रुपमा प्रहरी रिपोर्ट माग्न थालेका हुन् । ‘हुन त बैंकमा आबद्ध भइसकेपछि पनि केही कर्मचारीले बदमासी गरेका छन्,’ उनले भने, ‘तर, पनि बैंकमा आबद्ध हुनपूर्व उनीहरूको पृष्ठभूमिको बारेमा जानकारी लिँदा राम्रो हुन्छ । फेरि प्रहरीबाट रिपोर्ट लिन कुनै समस्या छैन ।’
विगत केही समयदेखि बैंकमा फाट्टफुट्ट बदमासीमा घटना भइरहेका छन् । तर, अन्य देशको बैंकिङको तुलानमा नेपालको बैंकमा फ्रड केस एकदमै कम छ । छिट्फुट रुपमा हुने फ्रडलाई रोक्न बैंकहरूले प्रहरी रिपोर्ट माग्न थालेको अध्यक्ष दाहालले जानकारी दिए ।
नियत नै खराब भएको कर्मचारी परेमा जस्तोसुकै रिपोर्ट बुझाए पनि बदमासी गर्नलाई कसैले रोक्न नसक्ने उनको भनाइ छ । बैंकमा जागिरका लागि आवेदन दिनेहरूले यसअघि नै बैंकबाट लोन लिएको तर, समयमा नतिरेको पनि पाइएको छ । कस्ता कर्मचारीले बैंकमा आवेदन दिन्छन् भन्ने पनि देखिने भएकाले यस्तो गरिएको उनको भनाइ छ ।
‘सर्वसाधारणको पैसा चलाउने संस्था भएकाले प्रहरी रिपोर्ट नै खराब भएको मान्छे त लिनु भएन्,’ उनले भने, ‘बैंकले प्रहरी रिपोर्ट नै लिनुपर्छ भन्ने बाध्यता छैन । तर, धेरै बैंकले प्रहरी रिपोर्ट माग्छन् ।’