काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दैनिक ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेकोे छ । साताको पहिलो दिन आइतबार ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बराबरको १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता सेयर किनबेच भएको छ ।
गत साता बिहीबार पनि ६ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । विगत केही समयदेखि बजार निरन्तर बढिरहेको र कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । विगतमा ५ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भइरहेकोमा गत सातादेखि ६ अर्बभन्दा बढीको सेयर कारोबार हुन थालेको हो ।
यसबीचमा नेप्से परिसूचक पनि पुरानो उच्च अंकलाई पछ्याउँदै १ हजार ८११ अंकसम्म चढेको छ । यद्यपी, कारोबार बन्द हुँदा बिहीबारको तुलनामा आइतबार बजार ४.६९ अंकले बढेर नेप्से परिसूचक १ हजार ७८२.८१ अंकमा रोकिएको छ । यसअघि २०७३ साउन १२ गते नेप्से सबैभन्दा उच्च १८८१.४५ अंकमा पुगेको थियो ।
त्यसपछि घट्दै गएर ११०० अंकमा पुगेको नेप्से आइतबार कारोबार रकममा उल्लेख्य वृद्धि भएर सेयर बजार ४.६९ अंकले मात्र बढेको छ । २०७५ फागुन १९ गते ११०० अंकमा झरेको थियो । त्यसपछि विस्तारै बजार उकालो लागेको हो । विगतमा बजार घटेसँगै कतिपय दिन कारोबार रकम करोड पनि पुग्न सकेको थिएन् ।
कारोबार रकम उच्च भएसँगै र अनलाइन कारोबारका कारण लगानीकर्ता ब्रोकरकोमा धाउनु नपर्ने अवस्थाको अन्त्य भएकाले लगानीकर्ताले ब्रोकर कमिसन घटाउनु पर्ने माग गर्दै आएका छन् । उच्च कारोबार रकमले एउटै ब्रोकर कम्पनीले दैनिक २८ लाख रुपैयाँसम्म कमाउँदै आएका छन् ।
अहिले नेपालमा ०.४ देखि ०.६ प्रतिशतसम्म ब्रोकर कमिसन लाग्दै आएको छ । लगानीकर्ताहरुले भने यो कमिसन ०.२५ प्रतिशतभन्दा कम हुनुपर्ने माग गर्दै आएका छन् । तर, नियामक धितोपत्र बोर्डले भने यस विषयमा मौन छ । यसअघि अर्थमन्त्री विष्णु पौडेलले सम्बन्धित निकायलाई ब्रोकर कमिसनका विषयमा अध्ययन गरेर निर्णय गर्न निर्देशन दिए पनि बोर्डले आलटाल गर्दै आएको छ ।
अनलाइन कारोबार भएसँगै ब्रोकरहरुको कार्यालय सञ्चालन खर्च घट्न पुगेको छ । तर, उनीहरुले कमिसन नघटाउन बोर्डलाई दबाब दिँदै आएका छन् । लगानीकर्ताले आफनो कमाइको उच्च हिस्सा ब्रोकरलाई बुझाउनु परेपछि आक्रोशित हुँदै आएका छन् ।
आइतबार सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल रिको प्रतिकित्ता १ हजार १३८ अंकमा ५७ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ६३५ मा २९ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल टेलिकमको ९६२ मा २७ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आइतबार बैंक तथा विकास बैंक परिसूचक बढेको छ । उत्पादन, बिमा, लघुवित्त, म्युचअल फण्ड र जलविद्युतलगायत परिसूचकमा गिरावट आएको छ ।