काठमाडौं । साना तथा मझौला व्यवसायीले पुनर्कर्जाको अर्थ राम्रोसँग नबुझ्दा समस्या उत्पन्न भएको छ । साना तथा मझौला व्यवसायीले पुनर्कर्जा भनेको सहुलियत ब्याजदरमा नयाँ ऋण पाउने हो भन्ने बुझेर बैंकमा ऋण माग्न गएको पाइएको छ ।
पुनर्कर्जा भनेको नयाँ ऋण दिने होइन । भइरहेको ऋणको ब्याज केही प्रतिशत कम गर्ने हो । तर, यहाँ साना तथा मझौला व्यवसायीहरू सहुलियत ब्याजदरमा नयाँ ऋण पाइन्छ भनेर बैंकमा गइरहेको र पुनर्कर्जा भनेको नयाँ ऋण पाउने होइन भन्दै बैंकले फर्काउने गरेको छ ।
ठूला व्यवसायीले कोरोना महामारीबाट थिल्थिलो बनेको अर्थतन्त्रलाई जोगाउन थप गति दिनका लागि केन्द्रीय बैंकलाई पुनर्कर्जा दिन माग गरेको थिए । सोहीअनुसार केन्द्रीय बैंकले डेढ खर्बको पुनर्कर्जा कोष बनाएको छ भने केहीलाई पुनर्कर्जा पनि दिइसकेको छ ।
तर, साना व्यवसायीले पुर्नकर्जा भनेको नयाँ कर्जा पाउने बुझेकाले केही समस्या भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पुनर्कर्जा नभएको नयाँ कर्जा पाउने होइन् । केन्द्रीय बैंकले तोेकेका क्षेत्रमा लिइएको ऋणको ब्याजमा सहुलियत दिने हो । तर, साना तथा मझौला उद्योगी/व्यवसायी यसमा अल्मलिएको उनको भनाइ छ ।
घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहका अनुसार हामीसँग आबद्ध धेरै सदस्यलाई यो समस्या भएको बताए ।
पुनर्कर्जाले विशेष गरी साना तथा घरेलु उद्यमी व्यवसायीमा अन्योल सिर्जना गरेको छ ।
उनीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराउन पुनर्कर्जा या सीधै राष्ट्र बैंकले उपलब्ध गराउने ग्राहक पुनर्कर्जा होस्, पैसा नै आउँछ भनेर बुझिरहेको सिंहको भनाइ छ ।
त्यसैले त्यस्ता उद्यमी व्यवसायीलाई उनीहरूको व्यवसाय सञ्चालन गर्न प्रोत्साहन स्वरुप नयाँ कर्जा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । नत्र थलिएका यस्ता घरेलु, साना तथा मझौला उद्यम व्यवसाय बैंकको कर्जा र सञ्चालन खर्चसमेत जुटाउन नसकेर बन्द हुने जोखिम छ ।
केन्द्रीय बैंकका अनुसार पुनर्कर्जाअन्तर्गत नयाँ कर्जा पाउ भन्दै आवेदन दिनेको लर्को नै छ । उनीहरूलाई बैंकका शाखा प्रवन्धक तथा प्रमुख कार्यकारी अधिकृतहरूले पुनर्कर्जाको बारेमा बुझाएर पठाउने गरेका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी प्रताडित साना तथा मझौला व्यवसायी परेका छन् । तर, उनीहरूले ऋण नलिई व्यवसाय गरेका थिए । पछि कोरोनाका कारण व्यवसाय चौपट भएपछि उनीहरू पुनर्कर्जा माग गर्दै बैंकका शाखा शाखा धाउने र रित्तो हात फर्किने गरेको बैंकहरू बताउँछन् ।
एकातिर साना तथा मझौला व्यवसायीले पुनर्कर्जाका बारेमा राम्रोसँग नबुझ्दा समस्या भएको छ भने अर्कोतिर बैंकहरूले पनि प्ले गरिरहेका छन् । बैंकसँग अहिले पैसा अभाव छैन् ।
त्यही भएर राष्ट्रबैंकसँग ब्याजमा थप पैसा किन लिने भनेर पुनर्कर्जा दिन पनि आनाकानी गरिरहेको उद्योगीहरू बताउँछन् । ‘जसले पुनर्कजा पाउनुपर्ने हो, उनीहरूले पनि पाएका छैनन्,’ ती उद्योगीले भने, ‘पुनर्कर्जा भनेको राष्ट्र बैंकसँग ऋण लिनु हो ।’