काठमाडौं । साताको अन्तिम दिन सेयर बजारलाई बैंकिङ समूहले थेगेको छ । बैंकिङ समूहले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रेकर्डलाई बिग्रन दिएन् । साताको अन्तिम दिन ५२ महिनाअघिको रेकर्डलाई तोडेर अघि सेयर बजार बढ्यो ।
२०७३ साउन १२ गतेको १८८१.४५ अंकको रेकर्डलाई पार लगाउँदै बिहीबार नेप्से परिसूचक १९२६.२१ अंकसम्म पुगे पनि अन्ततः १८९३ अंकमा अडिएको छ । बजार १८ अंकले मात्र बढ्यो । यो परिसूचक कायम राख्न बिहीबार बैंकिङ समूहले महत्वपूर्ण भूमिका खेलेको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरणका आधारमा बैंकिङ समूहको हिस्सा ५० प्रतिशतभन्दा बढी छ । बैंकिङ समूहमा २६ वटा वाणिज्य बैंकको सेयर सूचीकृत छ ।
कारोबारको सुरुमा व्यापार र सामूहिक लगानी कोष उपसूचकबाहेक अन्य सबै समूह बढेको र त्यसले नेप्से सूचकलाई उचालेको थियो । तर, पछिल्ला कारोबारहरुमा बैंकिङ उपसूचक अन्य सूचकहरुको तुलनामा उच्च नै देखिएको छ भने कतिपय अन्य सूचकहरु ओरालो लागेका छन् । बैंकिङ समूह सूचक कारोबारको मध्यतिर ५२ अंकसम्मले बढे पनि केही समयपछि घट्दै ३८ अंकले बढेको छ ।
सेयर बजार बढेसँगै कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यो रकम हालसम्म कै सर्वाधिक हो । बिहीबार सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । नेपाल रिको प्रतिकित्ता १ हजार ३३९ मा ५८ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल रिको लगातार सबैभन्दा बढी कारोबार हुँदै आएको छ ।
दोस्रो बढी कारोबार नबिल बैंकको छ । नबिलको प्रतिकित्ता १ हजार १३० मा ३८ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिवम् सिमेन्ट लिमिटेडको १ हजार ११४ मा २८ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेपाल टेलिकमको १ हजार ८९ मा २८ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बिहीबार बैंक, जलविद्युत, उत्पादनमूलक, म्युचअल फण्ड परिसूचक बढेका छन् भने होटल, वित्त, लघुवित्तको सेयर मूल्य घटेको छ ।
एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र पाँचथर पावर कम्पनी र हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । बिहीबार यी कम्पनीको सेयर मूल्यमा ‘पोजेटिभ सर्किट’ लागेको छ ।