काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस(कोभिड–१९)ले अर्थतन्त्र धरासायी बनेकाले त्यसको न्यूनीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् ।
सरकार अग्रभागमा रहने भए पनि एक्लै केही गर्न नसक्ने भन्दै निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने उनले बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकार अग्रभागमा रहेर भूमिका निर्वाह गर्न तयार रहेको तर निजी क्षेत्रले साथ दिनुपर्ने उनको भनाई छ ।
सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको सहकार्यमा कोभिडले सिर्जना गरेका चुनौतीहरुलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको स्पष्ट पारे ।
अर्थतन्त्रलाई अहिलेको स्थितिबाट माथि उकास्न र चलायमान बनाउन अहिले उत्पन्न भएका समस्याहरुको समना गर्दै लगानी, उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित भएर सरकार अगाडि बढिरहेको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्न विशेष कार्यक्रम आवस्यक रहेको बताए ।
प्रत्यक्ष अनुदान, राजस्व छुट, साँवाब्याज भुक्तानीको अवस्था, श्रमिक व्यवस्थापनको विषयमा सरकारले तत्काल सम्बोधन गरे मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने गोल्छाको भनाइ छ ।
यस्तै कृषि उत्पादनलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम ल्याउन, साना र मझौला उद्यमलाई कोभिड १९ को प्रभावबाट बाहिर ल्याउन महासंघले सरकारसँग सहकार्य गर्न चाहेको उनको भनाई छ ।
दोहोरो आर्थिक वृद्धि, वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने र देशको व्यापार घाटा कम गर्न निजी क्षेत्र आतुर रहेको पनि अध्यक्ष गोल्छाले स्पष्ट पार्दै लगानी वृद्धि, रोजगारी विस्तार र व्यावसायिक वातावरण निर्माणको लागि अहिले रहेका एक दर्जन बढी नीति एवं कानूनहरुमा सुधार गर्नुपर्ने आवश्यकता रहेको र निर्यात बढाउन केही अन्तर्राष्ट्रिय लगानी सम्झौताको पुनरावलोकन एवं विस्तार गर्नुपर्ने देखिएको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले कोभिडको प्रतिकूल अवस्थामा पनि केही सूचकहरु राम्रै देखिएकाले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले विशेष पहल गर्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालको डुइङ बिजनेस कष्ट बढी रहेकाले त्यसको न्यूनीकरणका लागि सकरारले ध्यान दिनुपर्नेमा जोड दिए ।