काठमाडौं । सेयरको दोस्रो बजारको कारोबार स्थल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार करिब ५७ अंकको खेलोफड्को भए पनि सोमबारको तुलनामा भने ३.३५ अंकले बढेर नेप्से परिसूचक २०००.४ अंकमा रोकिएको छ ।
सोमबार १९९५ अकंमा रोकिएको नेप्से मंगलबार सुरुवातमै बढेर २००९.४२ अंकमा पुगेको थियो । तर, लगत्तै बजारमा करेक्सन (सुधार) देखियो र कारोबार खुलेको १५ मिनेटमा न्यूनतम १९६५.६८ अंकमा झ¥यो ।
बजारले फेरि सकारात्मक गति समाउँदै कारोबार सुरु भएको ३५ मिनेटभित्र २०२२.२६ अंकमा चढेको नेप्सले त्यसपछि भने वृद्धिको लय समाउन सकेन र त्यसपछि घटबढ हुँदै २ हजार विन्दुमा कारोबार रोकियो । मंगलबार ७ अर्व ४० करोड ४१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सोमबार यस्तो कारोबार ८ अर्व ८६ करोड रुपैयाँको भएको थियो भने आइतबार हालसम्म ९ अर्व २२ अर्व रुपैयाँको सेयर किनबेच भएको थियो ।
पछिल्लो समय नेप्से सूचक र कारोबार रकममा निरन्तर वृद्धि देखिँदै गएको छ । कारोबारको सुरु वा मध्यतिर नेप्से सूचकले उच्च अंक छुने र त्यसपछि झर्दै गएर तल्लो तह तर, अघिल्लो दिनको भन्दा माथी सूचक बस्ने अवस्था सिर्जना हुँदै गएको छ । यसले आगामी दिनमा नेप्से सूचक बढ्ने सम्भावनालाइ जीवितै राखेको छ ।
मंगलबार जीवन बिमा समूह, उत्पादन तथा प्रशोधनमूलक, जलविद्युत, लघुवित्त वित्तीय संस्था र अन्य समूह सूचकमा वृद्धि देखिएपछि समग्र नेप्से सूचकमा सामान्य वृद्धि देखिएको हो । यसदिन बैंकिङ समूहसँगै, व्यापार, होटल, विकास बैंक, वित्त, निर्जीवन बिमा र सामूहिक लगानी कोष समूह उपसूचकमा भने गिरावट आएको छ ।
यस दिन नेपाल रि–इन्स्योरेन्स कम्पनी, रसुवागढी जलविद्युत कम्पनी, माथिल्लो तामाकोसी जलविद्युत कम्पनी, नेपाल टेलिकम र सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य करिब १० प्रतिसतले बढेको छ । मंगलबार एभरेस्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको सेयर मूल्य करिब १० प्रतिसतले घटेको छ ।