काठमाडौं । चन्द्रागिरी हिल्सले बुधबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा परियोजना सञ्चालन रहेको स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासन खुला गरेको हो ।
आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्लाअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ तथा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ र १० र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का स्थानीयले मात्रै पहिलो चरणमा आवेदन दिन पाउनेछन् ।
आईपीओमा छिटोमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ भने त्यस अवधिमा निष्कासनमा ल्याएको सेयर बिक्री नभएमा ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयरमा लगानी गर्न चाहाने स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटलरहेको छ । व्यावसायिक घराना आईएमई समूहको पवद्र्धनमा सञ्चालित कम्पनीले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा केवलकार र रिसाेर्ट सञ्चालन गरिरहेको छ ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कात्तिक २८ गतटे स्थानीय र सर्वसाधारणको लागि गरी कुल १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति दिएको थियो ।
स्थानीयलाई पछि कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।