काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग मार्फत ग्राहकले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ ।
डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन बैंकले यस नवीन सेवा सुरु गरेको जनाएको छ ।
बैंकका ग्राहकले एनआईसी एशिया मोबैंक एपमा रहेको फिक्ड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्नेछन ।जसमा कम्तीमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्ने बैंकले जनाएको छ ।
जसको वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशत छ। मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको जनाएको छ ।
‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस अनलाइन माध्यमबाट मुद्दती निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
बैंकले हाल शाखा कार्यालयहरू तथा वेबसाइटमार्फत मुद्दती खाता खोल्ने सुविधा दिँदै आएकोमा मोबैंक अझ सहज रुपमा मुद्दती खाता खोल्न सक्ने बताएको छ ।
बैंकले मुलुकभर ३३० शाखा कार्यालयहरू, ४७० एटीएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।